सिन्धुपाल्चोक- साउन १६ गते आएको बाढीले मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन्। यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएका थिए। त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले बताए।
मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन्। विस्थापितहरु अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जनाए।
विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पुर्याइएको बताइन्।
खोला नियन्त्रण गर्न जनशक्ति परिचालन
जोखिममा रहेका बस्ती तथा घर जोगाउनका लागि खोला नियन्त्रण गर्ने कार्यलाई मेलम्ची नगरपालिकाले निरन्तरता दिएको छ।
साउन १६ गते आएको बाढीले घरमा क्षति गर्दै मेलम्ची बजारमा नै खोला पस्ने जोखिम बढेपछि नगरपालिकाले खोला नियन्त्रण गर्न थप जनशक्ति परिचालन गरेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा नगरपालिकाको उच्च जोखिममा रहेका गैरा बगर र तल्लो बजारको विभिन्न स्थानमा ग्याविन वाल लगाउने काम भइरहेको अधिकृत धिताल जनाए।
बाढी प्रभावितका लागि खान, बस्न र स्वास्थ्य उपचारको अभाव हुन नदिने प्रतिवद्धता गरेको मेलम्ची नगरपालिकाले बाढी प्रभावितलाई २५ हजारदेखि १० हजार नगद सहयोग गर्ने नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए।