जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धिका लागि व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
सोमबार जनकपुरधाममा जसपा नगर समितिद्वारा दसैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले व्यवस्थामा परिवर्तन नआएका कारण मुलुक पछाडि पर्दै गएको बताए।
उनले भने, ‘देशमा अहिलेसम्म सरकार परिवर्तनको खेल मात्रै चल्दै आएको छ, अहिले पनि ओलीको सरकार गएपछि कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेको छ, तर जनताले सरकार परिवर्तनको अनुभुति गर्न सकेका छैनन्।’ आवश्यक्ता सरकार परिवर्तनको होइन, व्यवस्था परिवर्तनको रहेको यादवको भनाइ थियो।
अध्यक्ष यादवले जबसम्म राजनीतिक, समाजिक र आर्थिक परिवर्तन हुँदैन, तबसम्म मुलुक विकास र समृद्धिमा पछाडि नै रहनेछ। उनले राजनीतिक परिवर्तनका लागि सरकार होइन राजनीतिकर्मीको प्रवृतिमा परिवर्तन हुनु आवश्यक रहेको बताए।
उनले न्याय प्रणाली, संघीय संरचना, निर्वाचन प्रणालीसहितका सामाजिक परिवर्तन हुन जरुरी रहेको बताएका छन्। अध्यक्ष यादवले प्रष्टयाउँदै भने, ‘अहिले एकात्मक न्याय प्रणाली छ, यसलाई सबैको पहुँच हुने गरी संघीय न्याय प्रणालीमा परिवर्तन गर्नुपर्छ, संघीय संरचना अनुसार एकात्मक होइन, संघीय प्रणाली अनुसार प्रदेशलाई शक्तिशाली बनाउन जरुरी छ।’
अध्यक्ष यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्नेसमेत बताएका छन्। पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु भए देशमा निर्वाचन खर्च घटनुका साथै महँगीसमेत नियन्त्रण हुने र राजनीतिमा तल्लोस्तरका व्यक्तिदेखि माथिल्लोस्तरका व्यक्तिसम्मको पहुँच हुने निश्चित रहेको बताए। अहिले निर्वाचन खर्चिलो भएका कारण गरीब तप्काका व्यक्ति चाहेर पनि निर्वाचनमा सहभागी हुनबाट वञ्चित हुँदै आएको उनको भनाई थियो।
प्रत्येक निर्वाचनपछि महँगी बढ्दै आएको बताउँदै अध्यक्ष यादवले ठूल्ठूला पार्टीलाई पुँजीपति वर्गहरुले दुई अर्ब लगानी गरेर ५० अर्ब रकम असुल्न देशमा हरेक सामानको मूल्य बढाएर चर्को महँगी बढ्दै आएकोप्रति चिन्ता व्यक्त गरे। पुँजीपति वर्गसँग आर्थिक सहयोग लिएका दल सरकारमा पुगे पनि महँगीविरुद्ध केही नबोली उल्टै सहयोग गर्दै आएका आरोप लगाए।