काठमाडौं- रुसका मुख्य प्रशिक्षक स्टानिस्लाभ चेरेसेभले स्पेनले विश्वकपमा कसरी खेलिरहेको छ, त्यसबारे आफु जानकार रहेकाले सचेत भएर खेल्न आफ्नो टोलीलार्इ सुझाव दिएका छन्। उनले भने, ‘हामीले स्पेनलाई पराजित गर्न पक्कै पनि गाह्रो हुनेछ । तर, हामी हाम्रोतर्फबाट सक्दो प्रयास गर्नेछौं।’
प्रशिक्षक चेरेसेभले फिफा टिभीसँग भने, ‘हामीले बर्खास्त भएका प्रशिक्षक जुलेन लोप्टेगोईको प्रशिक्षणमा रहेको स्पेनसँग खेलेका थियौं। अब हामी नयाँ प्रशिक्षक फर्नान्डो हिएरोको प्रशिक्षणमा रहेको स्पेनसँग खेल्दैछौं। केही परिवर्तन देखेको छु। हामीले जित्न पनि सक्छौं।’
यस्तै प्रशिक्षक चेरेसेभले स्पेनले समूह चरणमा तुलनात्मक रुपमा कमजोर ठानिएको मोरक्को र इरानसँग संघर्ष गर्नुपरेको भन्दै रुसले पनि स्पेनलाई चुनौती दिन सक्षम रहेको बताए। किनकी स्पेनको कुनै घरेलु टोलीविरुद्धको प्रदर्शन हाल सम्म त्यस्तो राम्रो हुन सकेको छैन।
टिमले स्पेनविरुद्ध रक्षात्मक खेल्दै 'काउन्टर अट्याक' मा ध्यान दिने पनि बताएका छन्। रुसका एलेक्सान्डर गोलोभिन टिमको प्रशिक्षणमा फर्किए पनि रातो कार्डका कारण इगर स्मोलोनीकोभले स्पेनविरुद्धको खेल गुमाउनेछन्। उनले मोरोक्कोसँगको खेलमा रातो कार्ड खाएका थिए।
स्पेनले २०१० को विश्वकप जितेपछि पहिलो पटक नकआउट चरण खेल्दै छ। विश्वविजेता स्पेन २०१४ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो।
स्पेनसँग अग्रपङ्क्ति र मिडफिल्ड चुस्त रहेपनि गोलरक्षक र डिफेनसमा भने कमजोरी देखिएको छ। यसमा सुधार गर्न सके स्पेनले क्वार्टरफाइनल यात्रा तय गर्नेछ। विश्वस्तरका डिफेन्डर सर्जियो रामोस र जेरार्ड पिके टिममा रहेपनि उनीहरूले उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४