काठमाडौं-अहिले विश्वकप २०१८ रुसमा जारी छ । सन् १९३० बाट शुरु भएको विश्वकपको यो २१ औं संस्करण हो ।
यो पटकको उपाधी कसले जित्ला खेलप्रेमी, खेल विश्लेषक तथा खेलका विषयमा चासो राख्ने जो कोहीका आफ्ना आफ्नै अड्कल र तर्क छन् ।
धेरैले पहिलो उपाधी जित्ने उरुग्वे नै यसपालीको दाबेदार रहेको बताउँने गर्दछन् । हुन त खेलाडीको रोजाईका कारण टीम रोज्ने दर्शकले अर्जेन्टिना र पोर्चुगललाई यसपालीको दाबेदार मानेका थिए । लियोनल मेस्सी नेतृत्वका अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले प्रिक्वाटर फाइनलमा भोगेको पराजयसँगै प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब पनि ब्राजिल, स्पेन, फ्रान्स, उरुग्वे उपाधीको दाबेदार रहेको तर्क सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।
विगतको इतिहास हेर्दा पनि सबैभन्दा बढी ब्राजिलले विश्वकप जितेको छ । विश्वकपको पहिलो प्रतियोगिता १०३० मा जितेको उरुग्वेले १९५० मा पनि उपाधी कब्जा गरेको थियो । यसपटक पनि लामो समयअघिको इतिहास रच्ने योजनामा उरुग्वे छ ।
त्यस्तै १९५८ मा पहिलो पटक विश्वकपको उपाधी जितेको ब्राजिलले १९६२, १९७०, १९९४, २००२ गरी पाँच पटक जित दर्ता गरेको छ । यो ऐतिहासिक सफलतामा यस पटक पनि जीत दर्ता गर्दै अर्को इतिहास रच्ने योजनामा ब्राजिल छ ।
अघिल्लो संस्करणको विजेता जर्मनी भने समूहचरणबाटै बाहिरिएको छ । जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको थियो ।
यो पटकको विश्वकपको नतिजा कस्तो होला त्यो हेर्न बाँकी नै छ । प्रतियोगिता अन्तर्गतको शनिबार सम्पन्न प्री क्वाटरफाइनलको खेलमा बिजयी बन्दै फ्रान्स र उरुग्वेले क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।
त्यस्तै आइतबार हुने पहिलो खेलमा आयोजक रसिया र स्पेनबीचको बिजेता तथा दोस्रो खेलमा क्रोएसिया र डेनमार्कबीचको बिजेता अघिल्लो चरणमा पुग्ने छन् ।
