काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने दाबी गरेका छन्। देउवाले आइतबार इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘दुई चार दिन यताउता हुनु सामान्य कुरा हो, महाधिवेशन तोकिएकै मितिमा हुन्छ।’
उनले सहमतिमै नेतृत्व चयनको प्रयत्न गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। देउवाले भने, ‘भरसक सहमतिमै गर्नुहोस्, सहमति नभए प्रतिस्पर्धा हुन्छ। हार्नेले जित्नेलाई सघाउने हो।’ देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताए। उनले सरकारले यसअघि नै मृतकको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गरेका हुन्।
‘पहिरोले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकाहरूलाई घर बनाउन मद्दत गर्छौ’, उनले भने, ‘हामीले स्थलगत रूपमै अध्ययन गरेका छौ, भएको क्षति नोक्सानीको सरकारले मूल्यांकन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौं।’
‘नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउँन सकिँदैन’, देउवाले भने,‘ धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन्। गाउँमा गर्न सकिने कुरा गाउँमै पुर्याउन सकिन्छ।’
प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पुर्याएको बताउँदै सरकार पीडितहरूको साथमा रहेको बताएका छन्। पहिरो पीडितलाई सम्बोधन गर्दै उनले भने, ‘हामी तपाईंहरूको साथमा छौ, त्यही भएर हामी आएका हौं।’
प्रधानमन्त्री देउवाले बाढीपहिरोले प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताएका छन्। ‘नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउँन सकिँदैन’, देउवाले भने,‘ धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन्। गाउँमा गर्न सकिने कुरा गाउँमै पुर्याउन सकिन्छ।’
बाढीपहिरो प्रभावित निरीक्षणका लागि ऊर्जा तथा जलश्रोतमन्त्री फम्फा भुसाल, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी थिए। बाढीपहिरोबाट पाँचथरमा ३० जनाको मृत्यु भएको थियो। १४ जना घाइते भएका थिए। चारजना बेपत्ता छन्। इलाममा १४ जनाको मृत्यु भएको थियो। दुईजना घाइते भएका थिए भने दुईजना बेपत्ता छन्। बाढीपहिरोले पारेको क्षतिको विषयमा प्रधानमन्त्रीलाई इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीले ब्रिफिङ गरेका थिए।