काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन्।
जनकपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको बताएका हुन्।
केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ थियो।
पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै उनले अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी दिए। तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा उनको जोड थियो।
आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे। १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भने, ‘महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ।’
महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै उनले भने, ‘१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ। म सभापतिको अभियानमा होमिइसकेँ। ए कांग्रेस, बी कांग्रेस भन्ने गुटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’