धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले बेमौसमी बाढीपहिरोबाट प्रदेशमा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले राहत स्वरूप एक लाख रुपैयाँ र किरिया खर्चबापत तत्काल प्रतिपरिवार २० हजार रुपैयाँ दिने निर्णय भएको बताएकी छन्।
बेमौसमी वर्षाका कारण पूर्णरूपमा क्षति भएका घरपरिवारलाई तत्काल ५० हजार रुपैयाँ र घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री जोशीले बताइन्।
राहत तथा उद्धारमासमेत प्रदेश सरकार लागि परेको बताउँदै मन्त्री जोशीले शनिबार मात्रै नेपाली सेनाको हेलिकप्टरमार्फत डोटी र बझाङमा खाद्यान्न, टेन्टलगायतका सामाग्री पुगाएको बताइन्। उनले आजबाट प्रदेशका अन्य जिल्लामा समेत राहत सामग्री पठाइने बताइन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सुदूरपश्चिममा हालसम्म ३५ जनाले ज्यान गुमाएका छन्। सो अवधिमा २३ जना बेपत्ता छन् भने १७ जना घाइते भएका छन्।