काठमाडौं- नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ।
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरूलाई औपचारिक जानकारी नआएको स्पष्ट पारेका छन्।
अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधिश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैंले सोच्नुपर्ने प्रतिक्रियासमेत दिएका छन्। ‘उहाँहरूको हिजोका अनुभवको आधारमा समेत आफ्नो विचार दिनु भएको छ। त्यो विचार अनुसार त्यसको अवलम्वन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ उहाँले सोच्नुपर्ने हो', उनले भने, 'पूर्व न्यायाधिशहरूको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आइसकेको छैन। हामी फरमल्ली त्यो अध्ययन गर्छौं। र, त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन। राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं।’
अध्यक्ष श्रेष्ठले भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैंले भोग्नुपर्ने अवस्था आएको तर्क गरेका छन्। उनले न्यायालयको शुद्धीकरणका लागि आफूहरूले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाई हुन नसकेको गुनासो गरेका छन्। अध्यक्ष श्रेष्ठले न्यायालयमा विचौलिया प्रवेशमा रोक लगाउन आफूहरूले सुझाव दिँदै आएको पनि स्मरण गराएका छन्।