काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
अध्यक्ष ओलीले बेमौसमा आएको वर्षाका कारण ज्यान गएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकालाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिएका छन्।
अध्यक्ष ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दाबीसमेत गरे। उनले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास समेत व्यक्त गरे। उनले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशन छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएका छन्।