वाशिङ्टन- चिनियाँ विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति जो बाइडेनको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै चिनियाँ क्षमतालाई कम नआँक्न चेतावनी दिएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनको राष्ट्रिय सम्प्रभुता, क्षेत्रीय अखण्डताको रक्षाका लागि चिनियाँ नागरिकको दृढ संकल्प र क्षमतालाई कम आँक्न नहुने बताएको हो।
चीनले आफ्नो राष्ट्रिय अखण्डताका मामिलामा कसैसँग पनि सम्झौता गर्न नहुने बताइएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको रक्षाका लागि प्रतिबद्ध भएको बताएका थिए। चीनले बाइडेनको अभिव्यक्ति अमेरिकाले वषौंदेखि मान्दै आएको चीन नीति विपरीत भएकोसमेत बताएको छ।
टाउनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति बाइडेनले आफूलाई चीनसँगको संघर्षको चिन्ता नभएको बताएका छन्। उनले भने, मानिसहरुलाई चीन बढी बलियो हुँदै गइरहेको छ भन्ने कुराको पनि चिन्ता लिन जरुरी छैन।
राष्ट्रपति बाइडेनले थपे, चीन, रुस र बाँकी दुनियाँलाई थाहा छ कि हामीसँग विश्वकै सबैभन्दा शक्तिशाली सेना छ। जब ताइवानको रक्षाको कुरा आउँछ, अमेरिकाले रणनीतिक अस्पष्टताको स्थिति राखेको छ।
चीनले जानीबुझी ताइवान मामिलामा अस्पष्ट रहेको र स्वतन्त्रता प्रदान गर्न बाध्य भएको उनले बताए।