जनकपुर- ‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ। सीके राउतको नेतृत्वको जनमत पार्टीका पछिल्ला एक महिनाका गतिविधि प्रशासन र नागरिकलाई तर्साई कानुन हातमा लिने उद्देश्यले प्रेरित रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
जनमतका कार्यकर्ता पछिल्ला हरेक जुलुसमा लाठी र भाटा बोकेर सहभागी हुँदै आएका छन्। गत असोज १८ गते मात्रै जनमत पार्टीका नेताकार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा तोडफोड गरे। नगर प्रमुख तथा उपप्रमुखमध्ये कोही नभेटिएपछि कार्यकर्ताले उपमहानगरभित्र रहेको न्यायिक समितिको कार्यालयमा तोडफोड गरे। सोही दिन उनीहरूले मुख्यमन्त्री र प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि कारबाहीका लागि दबाब बढाउने उद्देश्यले जनमतका कार्यकर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयसमेत घेराउ गर्न पुगेका थिए।जनमतका कार्यकर्ताले यसअघि खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि तालाबन्दी गरेका थिए।
जनमत पार्टीका अध्यक्ष सीके राउतको घरअगाडि ढल निर्माणका क्रममा खाल्डो नपुरेको र वर्षाका कारण पानी निकासमा थप समस्या भइरहेको आरोप उनीहरुको थियो। जनमत पार्टीका कार्यकर्ताले कुश्वाहालाई कार्यालयबाहिर निकालेर, कुटपिट गरे, कपडा च्याते र शरीरमा नालाको हिलो दलिदिएर नगर घुमाए।
'कर्मचारीलाई राजनीतिक दलका कार्यकर्ताले अर्धनग्न बनाएर सार्वजनिक रुपमा घुमाउनु कानुनी राज्यको उपहास हो।'
जनमत पार्टीको यस प्रकारको अराजक गतिविधिलाई अन्य राजनीतिक दलका नेताहरुले आलोचना गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले राजनीतिक दलका नाममा यस्ता गतिविधि गर्नु अराजकताबाहेक अरू केही हुन नसक्ने बताए।
उनले भने, 'कर्मचारीलाई राजनीतिक दलका कार्यकर्ताले अर्धनग्न बनाएर सार्वजनिक रुपमा घुमाउनु कानुनी राज्यको उपहास हो।' कानुनी बाटो छँदाछँदै जनमत पार्टी गलत बाटोमा लागैको उनको भनाइ छ। जनमत पार्टीका कार्यकर्ताहरुले देखाएको चरित्र कुनै प्रजातान्त्रिक दलको नेताकार्यकर्ताको हुनै नसक्ने साहको भनाइ छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजारमा घुमाउनेसहितका दुर्व्यवहार आपत्तिजनक, अमानवीय र आपराधिक घटना रहेको बताए। उनले भने, ‘जनमत पार्टीका कार्यकर्ताहरुले कानुनी राज्यको उपहास हुने गरी गरेको हर्कत राजनीति दलको नभई आपराधिक र भूमिगत समूहको जस्तै देखियो।’
प्रमुख जिल्ला अधिकारी बास्तोलाले घटनाको छानबिन गरी संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने कार्य सुरु भइसकेको बताए। उनले कुनै पनि कार्यालयका कर्मचारीलाई नआत्तिन र नडराउन आग्रह गर्दै सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको बताए।
जनमत पार्टीका नेता इन्द्रजित यादव भने भ्रष्टाचार प्रत्येक पालिका र प्रदेश सरकारको हरेक निकायमा प्रश्रय पाइरहेकाले खबरदारीस्वरुप जनकारबाही गरिएको बताउँछन्। उनी भन्छन्, 'कार्यालयका हाकिम मात्रै होइनन् भ्रष्टाचारविरुद्धको आन्दोलनमा पालिका प्रमुख, मुख्यमन्त्री वा प्रधानमन्त्री नै किन नहोस् जो कोही आए पनि जनकारबाहीका लागि हामी तयार छाैं।' जनताको करबाटै तलब खाने अनि जनताको काम नगर्ने प्रवृत्तिको विरोध जारी रहने उनको भनाइ छ।
राउतको घर जाने बाटो नबनाएका कारण कार्यालय प्रमुखमाथि कुटपिट
सीके राउतले जनकपुरधामस्थित वडा नम्बर ८ बलवा टोलमा घर बनाएका छन्। सो बाटो सानो पानी पर्दा पनि हिलाम्मे हुन्छ। ढलका लागि सडक खनेको र काम अलपत्र छाडेर ठेकेदार बेपत्ता भएपछि सडक हिलाम्मे बनेकाले राउतलाई घरबाट निस्किनसमेत गाह्रो भइरहेको जनमत पार्टीका एक नेताले बताए। राउतले केही दिनअघि सामाजिक सञ्जालमा समेत निवासबाट निस्किने बाटो हिलोले अवरुद्ध भएको गुनासो पोखेका थिए।