काठमाडौं- विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ।
गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन्। कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ। प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ। त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ।
मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक-एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ।
उनका अनुसार बाढी/पहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन्। यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन्।
गत असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो। यो क्रम आज पनि जारी छ। सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ। एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ।
आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ।