बिहीबार, भदौ ४, २०८३

बगर बन्यो मार्सी फल्ने फाँट, बिउ नै मासिने खतरा

निरन्तरको बर्षापछि आएको बाढीले मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत भएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

जुम्ला- निरन्तरको बर्षापछि आएको बाढीले मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत भएको छ। जसका कारण काटेर भित्र्याउन ठिक्क पारेको धान डुबेर नष्ट मात्रै भएको छैन जुम्लाबाट मार्सीको बिउँ नै मासिने जोखिम बढेको छ। 

कृषि बिकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा दुई हजार नौ सय हेक्टरमा मार्सी धान खेती गरिएको थियो। त्यसमध्ये दुई हजार हेक्टर जमीनमा लगाएको धान नष्ट भएको छ। बाँकी नौ सय हेक्टरको धानमा पनि क्षति पुगेको छ। देवकोटाका अनुसार अब किसानहरू बिउका लागि समेत राहतको भर पर्नु पर्ने भएको छ।

उनका अनुसार कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार तोपानी र तिला गाउँपालिकामा मात्रै १८ हेक्टर (तीन सय ६० रोपनी) मा लगाएको धान बाली नष्ट भएको छ। यस्तै, रातीमार्सी धेरै फल्ने सिन्जा क्षेत्रका धान सबै डुबानमा परेको छ। प्रारम्भिक विवरणअनुसार कृषि क्षेत्रमा मात्रै जुम्लामा ६ करोडभन्दा बढीको क्षति भएको छ। 

यस्तो छ प्रारम्भिक क्षतिको विवरण

प्रशासनले चार दिनदेखिको बर्षा र बाढीले जिल्लाभर पुर्याएको प्रारम्भिक क्षेति विवरण सार्वजनिक गरेको छ। प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसार्इंले प्रस्तुत गरेको क्षेति विवरणअनुसार हिमा गाउँपालिका–६ निवासी रत्ना शाही बेपत्ता भएकी छिन। तिला र भेरी खोलाले १८ हेक्टरमा लगाएको कालीमार्सी धानमा क्षेति पुगेको छ। सिञ्जा क्षेत्रको क्षेति विवरण भने बाँकी छ। प्रजिअ प्रसार्इंका अनुसार तातोपानी र तिला गाउँपालिकामा एक सय ५२ वटा भेडाबाख्रा बाढीले बगाएको छ। 

तातोपानी गाउँपालिका–४ को नेत्र ज्योति माविको पक्की भवन, ८० थान डेक्स र पाँच सय मिटर घेराबार, तातोपानी–८ को एक सय ४० र एक सय ५० वाटको माइक्रो विद्युत् पावर हाउस पनि बगाएको छ। यसैगरी, तातोपानी गाउँपालिका–७ र ८ को काठेपुल, तातोपानी–४ को ६ वटा काठेपुल, तातोपानी–४ को लिफ्टिङ सिंचाई कुलो, तातोपानी–५ को खानेपानी ट्यांकी, पाइप लाइन, तातोपानी–५ कै कालिका माविको खेल मैदान, एक सय ५० मिटर सडक, तातोपानी–३ को दुई तले घर भत्किएको छ।

तिला–४ को रामप्रसाद चौलागाईंको खुद्रा पसल, लालबहादुर नेपालीको कच्ची घर, गुठीचौर गाउँपालिकाको कुलो र एक विद्यालयको प्रांगण बगाएको छ। हिमा गाउँपालिका नाग्म गमगडी राजमार्ग अन्तर्गत बड्कीमा पनि २० मिटर सडक पहिरोले बगाएको छ। 

यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा ठूलो क्षति भएको जानकारी दिएका छन्। सबैभन्दा बढी तिला गाउँपालिका प्रभावित भएको जिल्ला विपद् समितिले जनाएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय प्रमुखहरू, जिल्ला कृषि, पशु सेवा, खानेपानी, विद्युत्, सडक र शिक्षा समन्वय कार्यालयले जिल्लाको प्रारम्भिक क्षति बारे विवरण संकलन गरिरहेको जनाएका छन्। 

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले तातोपानी र तिलामा एक सय ५२ वटा भेडा बाख्रा बगेको जानकारी आएको बताए। उनले बाढी पहिरो, चट्याङका कारण जुम्लामा पशु चौपाया मरेको बताए।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मकर भण्डारीले तातोपानीस्थित नेत्र ज्योति मावि बगरमा परिणत भएको बताए। खानेपानी, नेपाल विद्युत् प्राधिकरण, डिभिजन सडक कार्यालयलगायतका प्रमुख तथा प्रतिनिधिहरूलाई प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले संगठित भएर प्रभाबित नागरिकलाई सहयोगमा लाग्न अनुरोध गरेका छन्। उनले भने, ‘यो विवरणअनुसार संघीय सरकारलाई राहत, विशेष प्याकेज र बजेट छुट्टयाउन पहल गर्ने बताए। 

प्रदेश सांसद पदमबहादुर रोकायाले क्षति धेरै भएकाले प्रदेश सरकारले समेत विशेष सहयोग गर्नु पर्ने जोड दिए। यस्तै प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठले समेत जिल्लाको वस्तुगत अवस्थाको जानकारी दिएका छन्।  -न्युज कारखाना

प्रकाशित: Oct 20, 2021| 20:30 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।