काठमाडौं– अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेको छ। दुहवी सबस्टेसन डुबान परेपछि मंगलबार साँझदेखि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ।
सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘बाढी पसेर सबस्टेसन डुवानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १का जिल्लाहरुमा ब्ल्याक आउट भएको छ,’ उनले भने।
सबस्टेसनको पानी हटाउन आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई आग्रह गरिएको घिसिङले बताए।
सबस्टेसनको पानी हटाउन आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई आग्रह गरिएको घिसिङले बताए।
उनले दुहबी सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए। यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ।
वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ। यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, वैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत आपूर्तिसमेत बन्द भएको छ।