बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु, २३ बेपत्ता, ठाउँठाउँमा सडक अवरुद्ध

बाढीपहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु, २३ बेपत्ता, ठाउँठाउँमा सडक अवरुद्ध

कर्णाली नदीमा पानीको वहाब खतराको तहभन्दा माथि पुगेको छ। जल मापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीको पानीको तह ११.७० मिटर पार गरेको जानकारी दिइन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी मंगलबार कम्तीमा  ५ जनाको मृत्यु भएको छ। यस्तै बझाङ एउटै गाउँका २३ जना पहिरोमा बेपत्ता छन्। गृह मन्त्रालयअन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार डोटी र सुनसरीमा दुई–दुई जना तथा कालीकोट र डडेलधुरामा एकएक जनाको ज्यान गएको छ। 

सुनसरीको धरानमा पहिरोले पुरिएर एक परिवारका दुई बालबालिकाको मृत्यु भएको छ। अविरल वर्षासँगै धरान–१३ नागेश्वर मार्गमा पहिरो झर्दा बालबालिकाको मृत्यु भएको हो। निशान राईका चार वर्षीय छोरा निहान र सात वर्षीया छोरी निसुको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।

वर्षाका कारण सबैभन्दा बढी क्षति सुदूरपश्चिम प्रदेशमा परेको छ। बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बैतडीको सिगास गाउँपालिका–५ स्थित ढुंगाड बस्ती जोखिममा परेको छ। बस्तीको दुई तर्फबाट सेती नदीले घेरेपछि करिब २ सय परिवार विस्थापित गरिएको सिगास गाउँपलिकाका अध्यक्ष हरि सिंह धामीले जानकारी दिए। सुदूरपश्चिम पहाडी जिल्ला जोड्ने सबै सडक अवरुद्ध छन्। महेन्द्रनगरका विभिन्न बस्ती डुबानमा परेका छन्। यस्तै महाकाली नदीमा पानीको सतह खतराको विन्दुमा पुगेको छ।

थलहरा गाउँपालिका वडा नम्बर ४ मा पहिरोमा परी २३ जना हराइरहेको खबर आएको सहसचिव पाण्डेले जानकारी दिइन्।

महाकाली नदीको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निर्माणाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुगेको छ। उक्त क्षेत्रबाट जोखिममा रहेका एक सय पचास परिवार मध्ये एक सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको र अन्यलाई पनि सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बझाङ जिल्लाको सदरमुकाम समेत बाढीले प्रभावित भएको छ र बसपार्कमा नदीले कटान गरेको छ। थलहरा गाउँपालिका वडा नम्बर ४ मा पहिरोमा परी २३ जना हराइरहेको खबर आएको सहसचिव पाण्डेले जानकारी दिइन्। उनका अनुसार सुरक्षा टोली घटनास्थलमा पुगेको छ। त्यहाँ उद्धारका लागि बुधबार हेलिकोप्टर खटाइने उनले बताइन्। डडेलधुरा र कञ्चनपुरमा महाकाली नदीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ। 

कर्णाली नदीमा पानीको वहाब खतराको तहभन्दा माथि पुगेको छ। जल मापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीको पानीको तह ११.७० मिटर पार गरेको जानकारी दिइन्। 

बाँकेमा राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ। बाँकेको डुडुवा गाउँपालिका(४ का चारजना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वनकरेली टिप्न गएका बेला पानीको सतह बढेपछि रातभर जंगलमै बस्नुपरेको थियो।
स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा सकुशल उद्धार गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए।

वर्षाका कारण बेनी मुस्ताङ राजमार्ग, कर्णाली राजमार्ग, नाग्मा मुगु राजमार्ग, भीमदत्त राजमार्ग, जय पृथ्वी राजमार्ग, सङ्खुवासभा चैनपुर राजमार्गलगायत अवरुद्ध छन्। झापा, मोरङ, सुनसरी, सप्तरी, तराई तथा चुरे भएर बग्ने साना नदीहरू, धनकुटाको तमोर नदी, कर्णालीको चिसापानी, जुम्लाको तीला नदी, डोटीको सेती नदी र डडेलधुराको महाकाली नदीमा बाढी आएको छ।

प्रकाशित: Oct 19, 2021| 21:25 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।