शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिममा बाढीपहिरो: तीन जनाको मृत्यु, २७ बेपत्ता

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाढी पहिरोमा परेर डोटीमा २ जना, डडेल्धुरामा एक जनाको मृत्यु भएको हो।
 |  मंगलबार, कात्तिक २, २०७८
nespernesper

भीम चौधरी

भीम चौधरी

मंगलबार, कात्तिक २, २०७८

धनगढी- आइतबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर सुदूरपश्चिम प्रदेशमा तीन जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाढी पहिरोमा परेर डोटीमा २ जना, डडेल्धुरामा एक जनाको मृत्यु भएको हो। 

triton college

डोटीमा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको तथा डडेल्धुरामा ३२ वर्षीय विष्णु अवस्थिको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रदेशमा बाढी पहिरोमा परेर पाँच जना घाइते भएको छन्। डोटीमा तीन, डडेल्धुरामा दुई जना घाइते भएका छन्। डोटीमा बिरबहादुर कुन्जेडा, ३३ वर्षीय बासुदेवी कुन्जेडा, ७ वर्षीय बिन्दा कुन्जेडा तथा डडेल्धुरामा २५ वर्षीय देवकी रावल र ७० वर्षीय ग्रिस रावल घाइते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

पहिरोका कारण बझाङ, डोटी र डडेल्धुरामा गरेर ६ घर भत्किएका छन्। बझाङमा तीन, डोटीमा एक र डडेल्धुरामा दुई घर भत्किएका छन्। 

बाढी, पहिरो र चट्याङ् लागेर सुदूरपश्चिममा ५ भैसी, एक गाई, २२ बाख्रा र २२ कुखुरा मरेका छन् भने ३२ बंगुर बेपत्ता भएका छन् ३६ फसेका छन्। 

Metro Mart
vianet

बाजुरामा चट्याङ्ग लागेर एक गाईको मरेको छ। डोटीमा चार गोरु, चार भैँसी र २० बाख्रा, डडेल्धुरामा एक भैँसी, एक गोरु, दुई बाख्रा, २२ कुखुरा र लत्ताकपडा पुरिएका छन्। बझाङमा ३२ बंगुर बेपत्ता छन् भने ३६ बंगुर फसेका छन्।

उता, बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए। 

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको उनले बताए। गगने सार्की भने रोजगारीका लागि भारतमा छन् भने उनका माईला छोरा काले सार्की भने सकुसल रहेको उनले बताए। 

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा आश्रय लिइरहेका छन्। 

बाढीले सडक अवरुद्ध भएको र सञ्चार सेवा अवरुद्ध हुँदा समयमै खबर नपाएकोले उद्दारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। लगातार पानी परिरहेको र घटनास्थल निकै टाढा भएकाले पुग्न नसकिएको उनले बताए।

यता, कैलालीमा चार जना बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएको बेला बगेर बेपत्ता भएका हुन्। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीमा नदीमा बगेर एक अर्का पनि बेपत्ता भएका छन्। कैलालीका ३० वर्षीय गणेश आउजी बगेर बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ। उता, सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन्। बैतडीको सिगास गाउँपालिका–५, ढुङ्गाडमा सेती नदीको छेउमा बस्दै आएका १० परिवारका ६० जना फसेको बताइएको छ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष रामबहादुर धामीले बस्तीको चारैतिर नदी बगिरहेको र बीचमा ६० जना फसेको बताए। प्रवक्ता धामीले उनीहरुको उद्धारका लागि प्रदेश सरकारसंग छलफल भइरहेको बताए। 

ढुङ्गाडस्थित सेती नदीको किनारमा एक सय २० परिवार बस्दै आएका छन् उनले भने, ‘अधिकांश बाढीको जोखिम हुने भन्दै राति नै सुरक्षित स्थानमा सरेका छन्। उनीहरुलाई विद्यालयमा राखिएको छ।’

उनीहरुको उद्धारका लागि वडा नम्बर ८ मा रहेको सिवलिङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश सिह पालले बताए।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टिमा महाकाली नदीको टापुमा फसेका ५ जनाको उद्दार गरिएको छ। सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले १५ घण्टापछि उनीहरुको उद्दार गरेको हो। प्रतिकुल मौसमका वाबजुद सेनाको टोलीले बेलुका ५ बजे उद्दार गरेका जर्नेल प्रेम शाहीले बताए।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि फसेका थिए। उनीहरु १५ घण्टा रुखमा बसेका थिए। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुष्कर नायक, सुरज नायक, अर्जुन नायक, अशोक नायक र शान्ति नायकको उद्धार गरीएको हो।

यता, टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै कर्णाली नदीले तटबन्ध भत्काएको छ। स्थानीय युवा भुपेन्द्र साँउदका अनुसार नदीको बाढी गाउँ पसेको छ।  

टीकापुर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ का दर्जन बढी गाउँमा बाढी पसेको छ। वडा नम्बर ९ का अध्यक्ष दीर्घ ठकुल्लाले गाउँमा बाढी पसेपछि त्रासको माहौल सिर्जना भएको बताए। स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भैरहेको उनले बताए। नदीको बाढी शाहीपुर हुँदै सिमरेनी, सत्ती, सूर्यपुर, वनगाँउ, फाँटा हुँदै बग्न थालेको उनले बताए।

नदीमा पानीको बहाव उच्च भएपछि अन्य थुप्रै ठाउँमा समेत तटबन्ध भत्किने खतरा बढेको छ। कर्णाली नदीमा पानीको वहाव १४.२५ मिटर पुगेको छ। कर्णालीमा १०.५ मिटर पुगे खतरा जनाउँछ।

उता, महाकालीमा पानीको वहाव ५ लाख ४७ हजार २ सय २४ क्यूसेक पुगेको छ। महाकालीमा चार लाख क्यूसेकसम्म सामान्य मानिन्छ। 

महाकाली नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन्। जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका घर डुबानमा परेको जनाइएको छ। 

भीमदत्तको ओदाली, ऐरीका करिब एक सय घर र र दोधारा चाँदनीको कुतियाकबर, शान्ती टोल, निसानी टोलका ६० घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनले ब्रह्मदेव बजारदेखि झोलुङ्गे पुलसम्म नदी किनारका बस्तीमा पानी पसे पनि मानवीय क्षति भने नभएको बताए। 

बाढीपहिरो प्रभावित जिल्लामा २५-२५ लाख उपलब्ध गराइने

सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित नौवटै जिल्लामा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले  क्षतिको यकिन विवरण आए थप  राहत उपलब्ध गराउने बताइन्। प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ। 

अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाकाले आकस्मिक बैठक बसेको थियो। बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल भएको बताइएको छ।


प्रकाशित: Oct 19, 2021| 20:01 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।