काठमाडौं- नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दसैं मान्न जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ।
दसैं सकिएर सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार आफ्नो लयमा फर्किन सकेको छैन। करिब दसैं सकिन लाग्दा समेत सिंहदरबारमा मन्त्री तथा कर्मचारीहरुको उपस्थिति कम भएकोले सिंहदरबार सुनसान बनेको छ। प्रधानमन्त्री नियुक्त भएको करिब तीन महिना पुग्नै लाग्दा असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।
मन्त्रालयमा मन्त्री नहुँदा र मन्त्रीको अनुपस्थितीमा काम हुन नसक्दा मन्त्रीलाई भेट्न जाने राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भिड तीन महिना अघिदेखि नै शून्यप्रायः थियो। असोज २२ गते मन्त्रिपरिषद् विस्तार भएसँगै सिंहदरबारमा चहलपहल बढ्नुको सट्टा चहलपहल घट्दै गइरहेको थियो। दसैं प्रारम्भ भइसकेको अवस्था थियो। मन्त्री नियुक्त हुनासाथ मन्त्रीहरु मन्त्रालय बाहिर नै दसैंको शुभकामना आदानप्रदानमा व्यस्त देखिन्थे भने कतिपय मन्त्री त कार्यभार सम्हाले लगत्तै आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरबारमा मन्त्री तथा कर्मचारीहरु त्यत्ति देखिन सकेका छैनन्। यसले सिंहदरवार सुनसान हुन पुगेको हो।
मंगलबार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ। बुधबार कोजाग्रत पूर्णिमादेखि दसैं औपचारिक रुपमा सकिने भएपनि सरकारी कामकाज सुरु भइसक्दा पनि दसैं बिदामा गएका कर्मचारीहरु फर्किइसकेको अवस्था छैन। मन्त्रीहरु पनि अझै शुभकामना आदानप्रदानमै दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीडभाड घटेको हो। हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ। यता पछिल्लो दुई दिनदेखि देशभर वर्षा हुँदा कतिपय जिल्लामा सडक बिग्रिएका कारण राजधानी फर्किनेहरु सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन। यसले पनि सिंहदरबार जानेहरुको संख्या घटाएको छ। दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ।
बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्यून मात्रामा देखियो भने कतिपय मन्त्रालयमा मन्त्रीको समेत अनुपस्थित रहेको पाइयो। यसरी लामो समयपछि सिंहदरबारले सबै मन्त्री पाउँदासमेत सेवाग्राही र राजनीतिक दलका नेता, कार्यकर्ताहरु सिंहदरबार प्रवेश गर्न पाएका छैनन् भने मन्त्रालयहरुले मन्त्री पाएसँगै चाडबाड सुरु भएपछि महत्वपूर्ण कामहरु समेत गर्न सकिरहेको छैन।