जनकपुरधाम- कोजाग्रत पूर्णिमा मिथिलाञ्चलमा धुमधामका साथ मनाइएको छ। मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाको विशिष्ट महत्व रहेको छ खास गरी नवविवाहित पुरुष र महिलाका लागि। आजको दिन दुल्ही पक्षबाट दुल्हा पक्षको घरमा भार (कोसेली ) पठाइन्छ। त्यसपछि बेहुलाको चुमाओन गरिन्छ र त्यसपछि भोजभतेरको आयोजन समेत गरिन्छ।
मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ। कोजाग्रतका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको छ।
यसैगरी आजको दिनमा मिथिलाकी छोरीको रुपमा रहेकी माता जानकीको मन्दिरमा समेत गाउँ गाउँबाट भार(कोसेली) आउने गर्दछ।यसका लागि मन्दिरलाई विशेष रुपले श्रृगांरिन्छ।मिथिलाको घर घरमा कोजाग्रत पूर्णिमाका दिन विभिन्न परिकार,पान र मखान अवश्य खाने गरिन्छ।कोजाग्रत पूर्णिमालाई दशमीको समापनको रुपमा समेत लिईन्छ।
जानकी मन्दिरमा कोजाग्रत पूर्णिमाको महोत्सव
कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष महोत्सवको आयोजना गरिन्छ।यस अवसरमा महोत्तरी जिल्लाको रतौली निवासी स्व. महेन्द्र प्रसाद ठाकुरको घरबाट मन्दिरमा भार (कोसेली) आउने गर्दछ।भारका सामान लिएर भगवान् राम माता जानकीको चुमाओन गरिन्छ।
त्यस्तै महोत्सवलाई अझ बढी आकर्षक बनाउनका लागि मन्दिरमा भजन किर्तनको आयोजना गरिन्छ।प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहास्यको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन्।उनका अनुसार मिथिलामा जसरी मिथिलानीहरुले आफ्नो ज्वाईका लागि भार पठाउने गर्दछन् त्यसरी नै मन्दिरमा समेत भारमा मिथिलाको महत्पूर्ण परिकारहरु आउने गर्दछ।भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको लत्ताकपड़ा आदि रहन्छ।स्व. ठाकुरको घरबाट परम्परागत रुपले काँधमा बोकी भार आउने गर्दछ।र यो परम्परा विगत १ सय १३ वर्षदेखि चल्दै आएको छ।भार पठाउने तयारी एक महिनापूर्वदेखि नै सुरु हुने गर्दछ ठाकुरका पौत्र नविल ठाकुरले बताए।र त्यो भार सहितको टोली जनकपुरधामकै प्रसिद्ध राम मन्दिरमा गईन्छ र त्यहाँ दुबै पक्षले मनोरञ्जनात्मक हास्य वैंग्य गर्ने गर्दछन्।आजको दिन भार हेर्न गाउँ गाउँबाट मानिसहरु आउने गर्दछन्।
कोजाग्रत पूर्णिमाका दिन मिथिलाबासीहरुले घरका देवी, देवता र माता सीता र भगवान् रामलाई पान, मखान, बतासासहितका सामान प्रसाद स्वरुप चढाउने गर्दछन्।
नवविवाहित पुरुष र महिलाको लागि विशेष उत्सव
नवविवाहित पुरुष र महिलाका लागि यो पर्व विशेष उत्सवको रुपमा रहन्छ।आजको दिनमा बेहुलाको घरमा उनको ससुरालीबाट भार आउने गर्दछ र बेहुलाको चुमाओन गरिन्छ।पर्वमा घरको आँगनमा अष्टदल अरिपण समेत दिईन्छ।
अरिपन माथि डालासहितका सामाग्री राखिन्छ र विशेष मन्त्र उच्चारण गर्दै दुरवाच्छत दिईने गरिन्छ।त्यसपछि बेहुलाको घरमा भोजभतेरको आयोजना गरिन्छ जसको सम्पूर्ण खर्च बेहुली पक्षले बेर्होनुपर्छ बताउँछिन् जनकपुरधाम वडा नम्बर ४ की सुमनी देवी झा।भोजभतेरपश्चात् पान र मखान बाड्ने गरिन्छ। आजको दिन बेहुली पक्षबाट बेहुलाको घर चाँदीको कौडा बनाएर पठाईन्छ र राती बेहुलीका भाई र बेहुलाले कौडा खेल्ने परम्परा रहेको छ।
मखान खेती लोप हुँदै
कोजाग्रत पूर्णिमामा मखानको विशेष महत्व छ।बेहुलीको घरबाट बेहुलाको घरमा पठाइएको भारमा मखान पठाउनुपर्ने अनिवार्यता छ।बेहुलीको घरबाट पठाइएको मखान गाउँ भरी बाँड्ने मिथिलाञ्चलको परम्परा छ।तर पछिल्लो समय मिथिला क्षेत्रमा विशिष्ट महत्व राख्ने मखाना खेती लोप हुने अवस्थामा पुगेको छ।
बढी आम्दानी गर्नका लागि पोखरीमा माछा पालन सुरु गरेपछि मखानको खेती लोपोन्मुख अवस्थामा पुगेको महोत्तरी विश्वम्भरपुरका किसान वासुदेव मुखियाले बताए। ‘माछा पालन गर्दा त्यसमा आम्दानी बढी हुन्छ।’ उनले भने ‘जसकारण मखानको अवस्था लोपोन्मुख अवस्थामा पुगेको हो।’
मिथिलामा चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत मखानाको प्रयोग हुन्छ। मखान आय आर्जन गर्ने माध्यम मात्रै नभई मिथिलाको संस्कृति पनि रहेको संस्कृतिविद्हरू बताउँछन्।
मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ। खेती नभएपछि जिल्लाका मलाह जातिको रोजगारी समेत गुम्न थालेको मलाह जातिका नेता राम उदिश मुखियाले बताए। केही वर्ष अघिसम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए। तर किसानले आम्दानी बढाउनका लागि पोखरीमा माछापालन गर्न थालेकाले यसको खेती लोप हुनथालेपछि उनीहरुको पेशा सङ्कटमा परेको जलेश्वरका मलाह खेलावन मुखियाले बताए।
विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ। मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर पानी बाहिर निकाल्छन् र घाममा सुकाउँछन्।त्यसपछि आगोमा भुटेर लावा तयार गरी बेच्छन्।