काठमाडौं– बझाङको थलारा गाउँपालिमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भइ त्रिभुवन माध्यमिक विद्यालय महेन्द्रधारमा बसिरहेका छन्। गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति माध्यमिक विद्यालयका शिक्षक मदनबहादुर साउँदले जानकारी दिए।
बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले बताए।