बगदाद- इराकको राजधानी बगदादमा सन् २०१६ मा भएको आत्मघाती बम विस्फोटका मुख्य योजनाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो।
इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल जावेबेलाई खुफिया अपरेसनका क्रममा पक्राउ गरेको जानकारी दिएका छन्। प्रधानमन्त्री मुस्तफाले मुलुकको कराडा जिल्लामा भएको क्रुर र अन्य आक्रमणमा इराककै नागरिक रहेका उक्त चरमपन्थी जिम्मेवार भएको ठहर गरेका छन्।
उक्त विस्फोट राजधानी बगदादमा सन् २००३ मा भएको अमेरिकी आक्रमणपछिको सबैभन्दा ठूलो घातक हमला हो। एक सपिङ सेन्टर नजिकै रमजानमा रोजा खोलेपछि मानिसहरु बाहिर घुम्न गएको समयमा विस्फोट गराइएको थियो।
विस्फोटपछि कैयौं मानिसहरुको विभिन्न भवनहरुमा लागेको आगोमा जलेर मृत्यु भएको थियो। प्रधानमन्त्री मुस्तफाले भनेका छन्, हाम्रो नागरिकको रगत बगाउने व्यक्तिलाई पक्राउ गर्नु राष्ट्रिय कर्तव्य हो।