काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्नसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन स्कटल्यान्डको ग्लास्गो जाने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।
कोप२६ सम्मेलन ग्लास्गोमा अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने भएको छ। यो सम्मेलन वार्षिक रूपमा हुने गर्छ र त्यसमा १९७ देशले जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे योजनाहरू बनाउन छलफल गर्छन्।
यो 'युनाइटेड नेशन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज'को हिस्सा हो। त्यो भनेको एउटा अन्तर्राष्ट्रिय सन्धि हो, जसमा लगभग सबैजसो देश र क्षेत्रले हस्ताक्षर गरेका छन्।
उक्त सन्धिमा जलवायुमा प्रभाव पार्ने मानवीय गतिविधिलाई सीमित गर्ने प्रावधान र लक्ष्य राखिएका छन्। कोप-२६ भनेको सन् १९९४ मार्च २१ मा उक्त सन्धि लागु भएपछि भएका त्यस्ता वार्षिक सम्मेलनको २६औं श्रृंखला हो।
कोप-२६ सन् २०१५ मा हस्ताक्षर भएको 'प्यारिस जलवायु सम्झौता'पछि हामीले कति प्रगति गर्यौँ र कतिमा असफल भयौं भनेर हेर्ने पहिलो सम्मेलन हो।
प्यारिस सहमति भनेर पनि चिनिने उक्त सम्झौता आधारभूत रूपमा जलवायु विपद्बाट बच्ने मानवीय योजना हो। यसले पूर्वऔद्योगिक कालकै जस्तो विश्व तापमान १.५ डिग्री सेल्सिअसभन्दा माथि गइरह्यो भने पृथ्वीमा हुने कैयौँ परिवर्तनलाई फर्काउन सकिँदैन भनेर पहिचान गरेको छ।