ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्नेगरी तावाखोलामा पक्की पुल बन्ने भएको छ। सिरिजंघा गाउँपालिका–७ खेबाङ र सिदिङ्वा गाउँपलिका–७ सुरुम्खिमको सिमानाको तावाखोलामा पक्की पुल बन्ने भएको हो।
दुई–तीन वर्षअघि नै सडकको ट्रयाक (मार्ग) खुले पनि तावाखोलामा पक्की पुल नहुँदा नियमित यातायताका साधान सन्चालनमा आउन सकेको छैन। हिउँदमा यातायातका साधन चले पनि वर्षातमा नचल्ने अवस्थालाई दृष्टिगत गरी पक्की पुल निर्माण गर्न लागेको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ।
तावाखोलामा बन्न लागेको पुलको सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले शिलान्यास गरेका छन्। सिरिजङ्घा गाउँपालिका र संघीय सरकारबाट प्राप्त समपुरक अनुदान बजेट लगानी गरेर पुल निर्माण गर्न लागिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार तीन करोड ८९ लाख ६० हजार ७२ रुपैयाँमा पुल निर्माणको जिम्मा अञ्जना÷हिमतारा जेभी कम्पनी इटहरीले पाएको छ। ४ भदौ ०८० भित्रै पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भए घिमिरेले जानकारी दिए।
तावाखोलामा पक्की पुल बनेपछि सिरिजङ्घा गाउँपालिकाको दुर्गम गाउँ वडा नम्बर ८ याम्फुदिनको काबेलीखोला वारिसम्मका बासिन्दाले राहत पाउने छन्। सदरमुकाम फुङ्लिङ र छिमेकी जिल्ला पाँचथर हुँदै लामो दुरीमा सन्चालन हुने यातायातको पहुँच पनि जोडिने छ। - न्युज कारखाना