जुम्ला– जुम्लाका किसान यति बेला काली मार्सी धान काट्ने चटारोमा छन्। जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ। धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए।
उनले भने, ‘यहाँका किसानले लगाएको प्रायःसबै खेतको धान एकैपटक पाक्छ।’ ‘जुम्लामा घटस्थापनाका दिन मार्सी धानको न्वाँगी खाने चलन छ। त्यो दिन धान काट्न उपयुक्त दिनसमेत मानिन्छ। गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा कमी आएको छ। धेरै पानी परेका कारण यसवर्ष धान उत्पादनमा कमी आएको किसानको अनुमान छ।
जिल्लामा दुई हजार नौ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए।उनका अनुसार एक हजार ४०० हेक्टरमा काली मार्सी र खैरो मार्सी धान खेती हुने गरेको छ। बाँकी एक हजार ५०० हेक्टरमा उन्नत जातको धानखेती हुन्छ।
जुम्लामा मार्सी चामलको मूल्य प्रतिकिलो एक सय ८० रुपैयाँसम्म पर्छ।
जुम्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ। राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको यहाँका जेष्ठ नागरिकहरुको भनाई छ। अहिले पनि जुम्लाी मार्सी चामलको चर्चा चलेकै छ।
त्यस्तै करिब सात सय वर्षअघि जुम्लीका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुवात गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ। कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन्।
जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात स्वादिलो हुन्छ। कृषि विकास कार्यालयका प्रमुख देवकोटा भने, ‘खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन्।’ उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरमा यसको माग पनि बढी नै हुने गरेको छ। जुम्लामा मार्सी चामलको मूल्य प्रतिकिलो एक सय ८० रुपैयाँसम्म पर्छ। न्युज कारखाना