काठमाडौं– बाढीपहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्ण रूपले सञ्चालनमा आइसकेका छैनन्। सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालू गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालू हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ।
सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकातर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए। उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा अब दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोत्रपको काम गरिनेछ।
अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ। विभागलाई सडक पूरै अवरुद्ध हुँदा एकतर्फी खोल्न चाप हुने तर एकातर्फ खुलेपछि पैदल यात्रु र सवारीसाधन आवतजावत गर्न सक्ने भएकाले फुर्सदमा गर्न सकिने सम्भार महाशाखाका प्रमुखसमेत रहेका अधिकारीले बताए। उनले भने, ‘यी काम हामीले वर्षा सकिएपछि नै गर्दै आएका छौं।
यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए। तीमध्ये अहिले ९५ सडक दुवैतर्फ सञ्चालनमा छन्।
सडक नै पूरै ठप्प भएको ठाउँमा विभागले पहिले एकातर्फबाट खुलाउन प्राथमिकता दिन्छ भने सवारीसाधनको चाप धेरै भएका ठाउँमा मात्रै त्यही समयमा दुवैतर्फ खुलाउनैपर्छ। नारायणगढ–बुटवाललगायत पूर्व–पश्चिम राजमार्गमा दुवैतर्फ नखोल्दा समस्या हुनसक्ने तर पहाडी सडकमा एक लेनले पनि काम गर्ने उनले बताए। उनले भने, ‘हामीले सडकको अवस्था हेरेर तत्काल दुवैतर्फ खुलाउने कि एकातर्फ भनी निर्णय गर्दर्छौं।’
विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएका थिए। यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो। क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ। असारदेखि नै अवरुद्ध रहेको लमजुङको बेंसीसहरदेखि मनाङको चामेसम्मको सडक केही दिन पहिलेदेखि सञ्चालनमा छ।
यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए। तीमध्ये अहिले ९५ सडक दुवैतर्फ सञ्चालनमा छन्। रासस