काठमाडौं– रक्षामन्त्री डा मीनेन्द्र रिजालले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि आफू प्रयत्नशील रहेको बताएका छन्। रक्षामन्त्री रिजालले आइतबार सैनिक मुख्यालय जंगीअड्डाको निरीक्षण भ्रमणका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले भने, ‘म मेरो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवर्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रही सेनाले प्राथमिकतामा राखेका कार्य कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्नेछु।’
रक्षामन्त्री रिजालले नेपाली सेनाले विपद् व्यवस्थापन र कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्य तथा विश्व शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्।
मन्त्री रिजाललाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई सरकारबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि आभार व्यक्त गरेका थिए।
प्रधान सेनापति शर्माले रक्षामन्त्री रिजालको नेतृत्व र निर्देशनमा सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधानसेनापति शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास दिलाएका थिए।