काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले सुनसरीका मोहम्मद हकिम साहको मृत्यु प्रकरणमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। आइतबार मुस्लिम समुदायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले बुझाएको ज्ञापनपत्र लिँदै गृहमन्त्री खाणले यस्तो प्रतिबद्धता जनाएका हुन्। ती संघसंस्थाले साहको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही माग गरेका छन्।
भोक्ताहा नरसिंह गाउँपालिकाका साहको २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्यु भएको थियो।
मन्त्री खाणले नागरिकको जीवनरक्षा गर्न सरकार सधैं तत्पर रहेको बताए। उनले भनेका छन्, ‘सामाजिक सद्भाव कायम राख्दै तथ्य बाहिर ल्याउन सरकार संवेदनशील छ।’
ज्ञापनपत्र बुझाउन इस्लामी संघका अध्यक्ष खुर्सिद आलम, नेपाल मुस्लिम संघका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीसहित ११ जना मन्त्रालयमा पुगेका थिए।