काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिस्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।
उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो। एक्कासि दम बढेर छातीमा पीडा भएपछि अस्पताल लगिएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको छ। अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो। एक्सरे रिपोर्टमा सामान्य दागसमेत देखिएको छ।
नेता वैद्य लामो समयदेखि दमबाट पीडित छन्। आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको चिकित्सकले बताएका छन्।