काठमाडौं- गैरआवासीय नेपाली(एनआरएनए)को केन्द्रीय समितिको कार्यकाल ६ महिना थपिएको छ।
शनिबार राति अबेरसम्म बसेको केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल आगामी ६ महिनाका लागि थप गर्दै नोभेम्बरको ३० तारिख भित्रमा अधिवेशन गर्ने निर्णय गरेको हो।
अहिलेको कार्य समितीको अवधी आउँदो शुक्रवार देखि समाप्त हुँदैछ। यसै महिना हुने भनिएको अधिवेशन विवादका कारण रोकिएको हो। विवादहरुबारे परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको थियो।
दुई साता अघि अधिवेशन रोक्न र उठेका विवादहरु समाधान गर्न मन्त्रालयले पत्र पठाएपछि एनआरएनको अधिवेशनमा अन्योलता छाएको थियो। त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले विवाद समाधानका लागि ६ महिना कार्यकाल थप्दै नोभेम्बरको ३० तारिखभित्र अधिवेशन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए।
केन्द्रीय कमिटीले बैठकले परराष्ट्र मन्त्रालयले उठाएका प्रतिनिधिसहित विवाद समाधानका लागि अध्यक्ष कुमार पन्तलाई जिम्मा समेत दिएको छ। विवाद समाधान समितिमा पूर्वअध्यक्षहरु सामेल हुनेछन्।