काठमाडौं– बलिउडका चर्चित जोडीमध्येको एक हो, सैफ अलि खान–करिना कपुर। यो जोडी आज शनिबार विवाहको नवौं वर्षगाँठ मनाउँदैछ।
उनीहरुले बिहेअघि नै लामो समय डेट गरेका थिए। वर्षगाँठको अवसरमा सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै करिनाले भनेकी छन्, ‘उसले मेरो जिन्दगी बदलिदिएको छ। दुनियाँको सबैभन्दा हेन्डसम मान्छेलाई वैवाहिक वर्षगाँठको शुभकामना।’
सैफ र करिनाबीच फिल्म टशनको सेटमा प्यार सुरु भएको बताइन्छ। त्यतिबेला उक्त फिल्मको सुटिङ ग्रिसमा भइरहेको थियो र त्यहीबेला सैफले करिनालाई बिहेको प्रस्ताव गरेका थिए।
सैफ र करिनाको विवाह १६ अक्टोबर २०१२ मा भएको थियो। स्मरण रहोस्, करिनासँग सैफको दोस्रो विवाह हो। अमृता सिंहसँग सम्बन्ध विच्छेद गरेको ८ वर्षपछि उनले करिनासँग बिहे गरेका हुन्। अमृता र सैफका दुई सन्तान सारा र इब्राहिम छन्। करिनाको तर्फबाट भने छोरा तैमुर छन्।