उदयपुर- पूर्व पश्चिम मदन भण्डारी लोकमार्गबाट नजिकै रहेको चारैतिर जंगलले घेरिएको बीचमा ठूलो पोखरी देखिने उदयपुरको ‘अर्जुन डहर पार्क पछिल्लो समय आन्तरिक पर्यटकिय गन्तव्य बन्न पुगेको छ।
लोकमार्गदेखि दुई किलोमिटर पश्चिम उदयपुरगढी गाउँपालिका– ७ अधेँरीस्थित विश्व कञ्चन सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने पार्कमा पर्यटक आकर्षित गर्ने संरचना निर्माणसँगै आन्तरिक पर्यटकको गन्तब्य बन्न पुगेको हो।
डिभिजन वन कार्यालय त्रिवेणी कटारी र सामुदायिक वन समुहको संयुक्त लगानीमा निर्मित पार्कमा पर्यटक लोभ्याउने वोटिङ, स्थानीय स्रोतको प्रयोग गर्दै बनाइएको टिकटिक घर, काठको भ्युटावर जस्ता पुर्वाधार तयार भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो।
अन्य ठाउँमाभन्दा फरक स्थानीय स्रोत सामाग्रीको उपभोग गर्ने गरी सखुवाको रुखमा टिकटक घर बनाइएको छ। सामुदायिक वन समुहको २२ लाख ७० हजार र वन कार्यालयको १० लाख ६ हजारको संयुक्त लगानीमा उद्यानसहितको टिकटक घर र अन्य संरचना तयार गरिएको सामुदायिक वन समुहका अध्यक्ष भिमबहादुर बस्नेतले बताए।
पर्यटक बढेसँगै भौतिक संरचना बढाउँदै लैजान लक्ष्य रहेको छ। समुहका सचिव केशवबहादुर अधिकारीले जिल्लाकै पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने गरी आन्तरिक र वन कार्यालयको लगानीमा पार्क बनाइएको बताए। उनले भने, ‘अधेँरीमा रहेको अर्जुन डहर पार्कलाई एक नमूना पर्यटकीय क्षेत्र बनाउने गरी लागि परेकाछौँ, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छौँ।हरियाली जङ्गलले घेरिएको स्थलमा पार्क पहाडको तल्लो भागमा छ। चारै पट्टीबाट बगेको पानी पोखरीमा जम्मा हुने गरेका कारण बाह्रै महिना पानी रहने गरेको छ’ स्थानीयबासी होम बस्नेत बताउँछन। पर्यटकलाई व्यवस्थित गर्न विभिन्न आवासिय टहरा समेत निर्माण गरिएको बताए।
झट्ट हेर्दा फेवाताल जस्तै देखिने पोखरीमा बोटिङको मज्जासँगै माछा समेत हेर्न पाइन्छ। दाँया बायाँका भागमा फुलहरू रोपेर रमणीय बनाइएको छ। पार्क नजिक अधेरीँ झरना रहेको छ। झण्डै चार किलोमिटर पर मदनभण्डारी लोकमार्गसँगै जोडिएको झरनाले थप मनोरम दिने गरेको बस्नेतले बताए।
झरना हेर्न र नुहाउन मात्रै दैनिक एक हजारको संख्यामा आन्तरिक पर्यटक आउने गरेको उनले बताए।पार्कमा पिकनिक खान आउनेहरू झरनामा जाने नुहाउने रमाइलो गरी फर्कने गर्दछन्। झरना हेर्नकै लागि उदयपुरबहेक सिरहा, सप्तरी र सिन्धुलीबाट सर्वसाधरण आउने गरेको उनको भनाइ छ।
झर्ना लोकमार्गसँग जोडिएकाले अझ बढि भिडभाड हुने गर्दछ। लोकमार्गको यात्रा गर्ने यात्रुहरू समेत झरनामा एकछिन रोकेर फोटो खिचेर जाने गरेको बताउँछन। दुबै ठाउँ उदयपुरको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ। -न्यूज कारखाना