बिहीबार, भदौ ४, २०८३

के हो दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ? जानौं

हामी हाम्रो संस्कार र संस्कृतिबारे जानकार भए पनि ती संस्कार र सँस्कृतीका कारणबारे अनविज्ञ भयौं भने पुस्तान्तरणमा समस्या देखिन सक्छ। अहिलेका नयाँ पुस्तालाई हरेक कुराको कारण चाहिन्छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं- हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै संस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन्‚ तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ। त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरि र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरि मन्त्र पढ्ने गरेको पनि पाउँछौं। यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ। 

हामी हाम्रो संस्कार र संस्कृतिबारे जानकार भए पनि ती संस्कार र सँस्कृतीका कारणबारे अनविज्ञ भयौं भने पुस्तान्तरणमा समस्या देखिन सक्छ। अहिलेका नयाँ पुस्तालाई हरेक कुराको कारण चाहिन्छ। यदि हामीले ती कुराको पुष्टि गर्न सकेनौं भने नयाँ पुस्ताले स्वीकार्न गाह्रो मान्छ। हाम्रा बालबच्चामा हामीले मानेको संस्कार र संस्कृतिको हस्तान्तरण गर्न पनि ती सबैको बारेमा पहिला आफैँ जानकार हुन आवश्यक छ। अब कुरा गरौं दसैंको टीका लगाउँदा भनिने मन्त्रको । 

आयुर्द्रोण सुते श्रियो दशरथे शत्रुक्षयो राघवे 
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
सौर्यं सान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥

यस विषयमा प्रष्ट हुन जरुरी छ कि, यो श्लोक कुनै धार्मिक पुराणअन्तर्गतको होइन। यो श्लोक विशेषगरी नेपालमा मात्र प्रयोग हुन्छ। यो श्लोक नेपालका राजाहरूलाई टिका लगाउँदा प्रयोग भएको हुन सक्ने संस्कृत भाषाका ज्ञाताहरू बताउँछन्। किनभने यसमा रहेका सबै पात्रहरू राजपरिवारअन्तर्गतका छन्। त्यसैले यसलाई सुरुमा कुनै राजपुरोहितले राजालाई आशीर्वाद दिन बनाएको हुनसक्छ। 

यस मन्त्रमा गुरु द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तै आयु होस्। दशरथ राजाको जत्तिकै सम्पत्ति होस्। शत्रुको नाश गर्न भगवान राम झैं पराक्रमी हुनू। नहुष राजाको जस्तै ऐश्वर्य होस्। हावाको जस्तै गति र दुर्योधनको जस्तै मान–सम्मान मिलोस्। सूर्यपुत्र कर्णजस्तै दानी हुनू। शक्तिमा बलरामजस्तै बलवान हुनू। सत्यमा कुन्तीपुत्र सत्यवान् युधिष्ठिर जस्तै हुनू। विद्वानमा विदुर बराबर हुनू। भगवान नारायणको जस्तो कीर्ति होस् भनेर भनिएको छ। यो नै मन्त्रको सार हो। 

यसमा उल्लेख गरिएका पात्रहरूको बारेमा जान्नको लागि भने अध्ययनकै जरुरी हुन्छ। यदि कसैले श्रीमद्भागवत महापुराणका कथाहरू सुन्नु भएको छ भने त्यसमा यी सबै पत्रहरूको बारेमा उल्लेख गरिएको छ। यहाँ अश्वत्थामा, दशरथ, भगवान राम, नहुष, पवनदेव, दुर्योधन, कर्ण, भगवान कृष्णका दाई बलराम, युधिष्ठिर, विदूर र भगवान नारायणलाई उदाहरणीय पात्र बनाइएको छ। 

अर्को मन्त्र:

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमोस्तुते।

यसमा कुनै विशेष आशिर्वाद नभएर देवीको स्तुती गाइएको छ। यसमा देवीको विभिन्न स्वरुपको नाम लिइएको छ। यो श्लोक चण्डीबाट साभार भएको हो। 

जयन्ती : जित्नेवाली

मंगलाकाली : मंगल गर्नेवाली देवी

भद्रकाली : दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी 

कपालिनी : भगवती दुर्गाको अर्को नाम

दुर्गा : दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी

क्षमा  : पृथ्वी

शिवधात्री : कल्याण गर्नेवाली

स्वाहा : दक्षप्रजापतीकी छोरी

स्वधा : दक्षप्रजापतीकी छोरी

नमोस्तुते : त्यस्ती देवीलाई नमस्कार छ। 

यो मन्त्र विशेषगरी महिलालाई टीका लगाउँदा उच्चारण गरिन्छ। तर हामीले बुझे झैँ दसैंमा महिलालाई टीका लगाउन यही मन्त्रको प्रयोग गर्नुपर्छ भन्ने धारणा चाहिँ गलत हो।

यस विषयमा कुनै पनि धार्मिक शास्त्र, नीति, पुराण तथा पौराणिक ग्रन्थहरूमा उल्लेख छैन। यो हामी आफैँले चलाएको चलनमात्र हो। नत्र माथि उल्लेख भएको आयुर्द्रोण सुते... श्लोकको रचना गर्नुभन्दा पहिले दसैंमा कसैले पनि आशिर्वाद नै पाउँदैन थिए त ?

आशीर्वाद भनेको शुभेच्छा हो। भलो चिताउनु हो। सफलताको कामना गर्नु हो। त्यसैले आशीर्वादमा कहिले पनि विभेद भन्ने कुरा हुँदैन। आशिर्वादले महिला र पुरुष छुट्ट्याउँदैन।

दसैंमा टीका लगाउँदा महिला र पुरुषलाई फरक–फरक आशीर्वाद दिनुको कारण हाम्रो पुरातन धारणामात्र हो‚ यो कुनै शास्त्रसम्मत होइन। 

यदि कसैलाई संस्कृत भाषाका श्लोक आउँदैन भने आशिर्वाद दिँदा के गर्ने त भन्ने पनि प्रश्न उठ्न सक्छ। आशीर्वाद मनैदेखि दिने हुँदा यसमा कुनै पनि भाषा प्रधान रहँदैन। संस्कृत भाषालाई सबैभन्दा पुरानो भाषा र देवताको प्रीय भाषा मानिएकाले संस्कृतका श्लोक प्रयोग गरिएको हो। श्लोक नआउनेले शुभ चिजहरूको कामना गर्दै टीका लगाउँदा हुन्छ। 

विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीकाजमरा लगाई आशीर्वाद लिने गरिन्छ। - न्युज कारखाना

प्रकाशित: Oct 15, 2021| 09:56 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।