बेरुत- लेबनानको राजधानी बेरुतमा आन्दोलनकारीमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। गत वर्ष भएको ठूलो विस्फोटको छानबिन गर्न न्यायाधीशको नेतृत्वमा बनेको समितिविरुद्ध सिया मुस्लिम समूह हेजबुल्लाह र अमल समूहले विरोध प्रदर्शन गरेका थिए।
लेबनानी फोर्सका क्रिश्चियन स्नाइपरहरुले भिडमाथि गोली चलाएको बताइएको छ। तर, लेबनानी फोर्सले भने उक्त आरोप अस्वीकार गरेको छ। गत वर्ष भएको विस्फोटमा २१९ जनाको मृत्यु भएको थियो।
हेजबुल्लाह र यसका गठबन्धन समूहहरुले उक्त रिपोर्ट पूर्वाग्रही भएको बताइएको छ। तर, पीडित परिवारहरुले भने उक्त रिपोर्ट स्वीकार गरेका छन्। हालसम्म उक्त घटनामा कसैलाई पनि दोषी ठहर गरिएको छैन।
२०२० को अगस्तमा भएको विस्फोटले सहरलाई नै तहसनहस भएको थियो। बिहीबारको घटनाका विषयमा प्रधानमन्त्री नाजिब मिकाटीले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। उनले यसलाई यस वर्षकै सबैभन्दा हिंसात्मक घटना भएको बताएका छन्।