बिहीबार, भदौ ४, २०८३

अर्धचेत मुकेश, रोएरै बित्छ कायस्थ परिवारको चाडपर्व

‘छोरा ठिक होला भन्ने आशा अझै मरेको छैन, तर मुकेश तीन वर्षदेखि दुब्लाउँदै गएको छ। पहिले जस्तो हाँस्न, बोल्न छाडेको छ, पीरमाथि पीर थपिरहेको छ’,
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काभ्रेपलाञ्चोक– सोह्र वर्षमा कस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहने बनेपाका मुकेशलाई थाहा छैन। अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष बितिसकेका छन्। 

दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला, बाबा–आमा भनेर बोलाउला भन्ने आशामा उनको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारको आशा मरेको छैन। ‘छोरा ठिक होला भन्ने आशा अझै मरेको छैन, तर मुकेश तीन वर्षदेखि दुब्लाउँदै गएको छ। पहिले जस्तो हाँस्न, बोल्न छाडेको छ, पीरमाथि पीर थपिरहेको छ’, आमा मीराले भनिन्।’ कसैले नाम लिएर बोलाउँदा ‘हँ ह, माँ’ भनेर बोल्न सक्ने मुकेश हाल बोल्न सक्दैनन्। 

परिवारका अनुसार मुकेश अहिले ३१ वर्षका भए। लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ। ‘मुकेशले मुखबाट नखाएको पनि तीन वर्ष भइसक्यो’, बाबु कृष्णमानले भने। मुकेश हाल दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्छन्।  

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए। त्यस दिनदखि उनको होस् खुल्न सकेको छैन भने बायाँ हात चल्दैन। गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ। 

‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफैँ मनन् गर्नस् त!’ बाबु कृष्णमान भन्छन्।
छोराका विषयमा कुराकानी गर्दा मुकेशको बाबुआमा निकैबेर भक्कानिन्छन्। ‘दसैंतिहारमा छिमेकका घरमा झिलीमिली गर्दै, परिवार र आफन्तसँग खुसियाली बाँडेको देख्दा मन निकै पोल्छ, कतै मेरो छोरोले आमा भन्देओस्’, मीरा दुखेसो पोख्छिन्, ‘दसैं नजिकिएका बेला मुकेश घरको छतमा चंगा उडाउँदै होला जस्तो लाग्छ।’ मुकेश कायस्थ परिवारको एक्ला छोरा हुन्। 

‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफैँ मनन् गर्नस् त!’ बाबु कृष्णमान भन्छन्।

सोह्र वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई सुतिरहेको हेरेर उनकी आमा मीरा भविष्यबारे सधैं चिन्तित हुनु त दैनिकी नै भयो। अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने, नपाउनेमा मीरा शंका गर्छिन्। ‘दसैं–तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ती पीडादायक हुन्न’, मीराले भनिन्। उनका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुन थाल्छन्। 

कायस्थ दम्पती मुकेशलाई हँसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्दैनन्। ‘हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेलाबेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ अनि हँ मात्रै गर्छ’, कृष्णमानले पनि आँसु झार्दै पीडा पोखे। आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा आठमा पढ्थे। 

तत्कालीन सरकारले मुकेशको उपचारका लागि १६ लाख सहयोग तथा बैंकको सात लाख ऋण मिनाहा गरिदिएको थियो। सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरूप मासिक १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ।

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा छ कायस्थ परिवार। तर, देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहत छन् बाबुआमा। हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे हेरिरहेका छन्। 

आन्दोलनका घाइतेलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ। कृष्णमानले भने, ‘आन्दोलनका घाइते र सहिदलाई सरकारले कहिल्यै भुल्नुहुन्न।’ मुकेशका नाममा बनेपामा पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने उनीहरुको चाहना छ।

तत्कालीन सरकारले मुकेशको उपचारका लागि १६ लाख सहयोग तथा बैंकको सात लाख ऋण मिनाहा गरिदिएको थियो। सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरूप मासिक १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ। मुकेशका नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ। प्रतिष्ठानले मुकेशका नाममा पुनःस्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ। -राजकुमार पराजुली/रासस

प्रकाशित: Oct 15, 2021| 06:10 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।