काठमाडौं– बाँकेकी रुबी खान बिहीबार थुनामुक्त भएकी छन्। सर्वोच्चको आदेशपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले थुनामुक्त गरेको हो। थुनामुक्त भएपछि उनले न्याय प्राप्तिका लागि संघर्ष गर्दा आफूलाई प्रशासनले हस्तक्षेप गरेको आरोप लगाइन्। उनले भनिन्, ‘ममाथि मुद्दा लादिएको छ। आन्दोलनबाट भगाउन अन्यायमा पारिएको छ।’ उनले थुनामा राख्दा आफूलाई अस्पताल जान नदिएको बताइन्। उनले भनिन्, ‘अझैसम्म पक्राउ पुर्जी दिएको छैन। त्यसैले मैले असुरक्षित महसुस गरिरहेकी छु।’ उनले न्याय नपाई नेपालगन्ज नफर्कने पनि बताइन्।
सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले माइतीघर मण्डलाबाट पक्राउ गरी नेपालगन्ज पुर्याइएकी खानलाई बिहीबार नै सर्वोच्चका सहरजिस्टारको रोहबरमा रुबीका कानुन व्यवसायीको जिम्मा लगाउन आदेश दिएको थियो।
अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर पनि गरेको छ। रुबीलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ गर्ने वा उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न पनि सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ।
रुबीलाई जिल्ला प्रहरी कार्यालयको पत्र बमोजिम भन्दै महानगरीय प्रहरी बृत सिंहदरवारले पक्राउ गरी गत २३ गते नेपालगञ्ज पठाएको थियो। रुबीले बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै आएकी थिइन्।
बाँके प्रहरीले दुवै घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरेपछि अन्य १३ जनाको टोलीसँगै रूबी नेपालगन्जबाट २० दिन पैदल यात्रा गरी न्याय माग गर्दै काठमाडौं आएकी थिइन्।