बैतडी- बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा भव्य जात्रा लागेको छ। रांगा बोकाको बलिसहित लाग्ने जात्रामा बिहीबार ३६ रांगाको बलि दिइएको छ। बिहीबार महानवमीका दिन कैलपाल मन्दिर र उदयदेव मन्दिरमा पूजाआजा गरिसकेपछी कालिकामा बलि दिने चलन छ।
पाटनस्थित मैतोडामा बिहीबार भव्य रूपले डेउडासमेत लाग्ने गरेको छ। बैतडीसहित छिमेकी जिल्लाका डेउडिया कलाकारहरू पाटनमा डेउडा खेल्न आउने गरेका छन्।
पाटनस्थित उदयदेव मन्दिरमा बिहीबार लाग्ने जात्रामा भारतमा दर्शनार्थीहरूसमेत आउने गरेका छन्। पाटन मध्यपहाडी लोकमार्गको नमुना सहर भएकाले उदयदेव जात्रामा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको छ।
यसैगरी, जिल्लाको सुर्नया गाउँपालिका-५ को फाल्ङाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ। उक्त मन्दिरमा रातिको समयमा रांगा बोकाको बलि दिइने गरेको छ। -न्युज कारखाना