काठमाडौं– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प गरेका छन्।
पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निशानमा पञ्जा छापसमेत लगाएका छन्। साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी जवान दुर्गाबहादुर सिञ्जालीलाई नगद पुरस्कार प्रदान गरेका थिए।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत समेतले मौलो परिक्रमा गरेका थिए।
पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो। साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो।
नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो। जसमा दुई वटा निशान हुन्छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित हुन्छ। नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्तिसुरक्षा अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा छ। नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडा दसैं र चैते दसैंमा मौलो पूजा गर्दै आएको छ ।