काठमाडौं- दुई वर्ष कोभिड १९ संक्रमणको महामारीले मनाउन नपाएकाले अलिकति भए पनि मनाउन पाउँदा यसपालि दसैं विशेष छ। अवसरजस्तो भएको छ। हामी अदालतको कर्मचारी, न्यायाधीशहरु दसैंमा पनि कामै गर्ने हो। दसैंमा पनि ड्युटी त छँदैछ। फैसला लेखनको कार्य पनि बाँकी नै रहेकाले सक्नुपर्नेछ। दसैं काठमाडौंमै मनाउने योजना छ। घुमघाम भइरहेको छ। छुट्टी भएपछि हाइकिङ सुरु गरेको छु।
विष्णुमतीको मुहानमा ढुंगैढुंगामा चढेर हिँडेर पुग्दा रमाइलो लाग्यो। आनी गुम्बा पनि जाने योजना छ। काठमाडौंकै छेउछाउ घुम्ने ठाउँ धेरै छ। शनिबारै कुर्न परेन। दसैं बिदाले यो अवसर पनि जोडेको छ।
मठमन्दिरमा जाने समय पनि मिलेको छ। यसपालिको दसैंमा भेटघाट, घरमा पूजापाठ, नेवारको फेरि भोजभतेर, सपरिवार खानपिन गर्ने, टीका थाप्ने, टीका लगाइदिने, नजिकै घुम्ने कार्यक्रम छ। मैले सासूबाट टीका लगाउँछु। अनि अरुलाई लगाइदिने हो। कोही शुभचिन्तक आउनुभयो भने शुभकामना र आशीर्वाद लिने/दिने यसैगरी मनाइन्छ।
फैसला लेखनको धेरै काम भएकाले यसपालि अन्य पुस्तक अध्ययन गर्ने समय छैन। मुद्दा र फैसला लेखनसँग जोडिएका रिलेभेन्ट किताबहरु, आर्टिकलहरु पढिरहेको छु। कानुनहरु समयानुसार परिवर्तन हुँदैछन्। तर हामी पुरानो जुरिसप्रुडेन्सलाई मात्र आधार मान्छौं।
जस्तो रेप केसमा परम्परागत मेडिकल जुरिसप्रुडेन्समा पनि फरक दृष्टिकोणबाट कसरी अगाडि जाने भन्ने कुरासँग सम्बन्धित आर्टिकलहरु पढिरहेको छु। चाडपर्वलाई मैले संस्कृतिका रुपमा लिन्छु। जोडिने, विविधतामा एकता ल्याउने आधारका रुपमा हेर्छु। मान्छेको फरक धर्म, भाषा, जाति होला, तर यो चाडपर्वले हामी सबैको संस्कृति एउटै हो। किनभने संस्कृति पनि एउटा एकतामा बाध्ने आधार हो। -न्युजकारखाना