कपिलवस्तु- दसैंको रमझमसँगै जिल्लामा पटक पटक हिंसात्मक र आपराधिक घटना हुने गरेका छन्। विशेष गरी सीमावर्ती क्षेत्रमा दुर्गा मूर्ति विसर्जनको समय हुने साम्प्रदायिक घटनाले कपिलवस्तु तनावग्रस्त हुने गरेको छ। तर यस वर्ष यस्ता घटना निरुत्साहित गराउन जिल्ला प्रहरी कार्यालयले फरक शैली अपनाउने भएको छ।
चाडपर्वको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै प्रहरीले आपराधिक घटना हुन नदिने योजना बनाएको छ। जिल्लामा साम्प्रदायिक हिंसाको जोखिम रहेको कृष्ण नगर, पकडी लगायतका स्थानमा सादा पोसाकका प्रहरीले निगरानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। प्रहरीले पुराना आपराधिक घटनामा संलग्न रहेका व्यक्तिको निगरानी बढाएको छ।
दुर्गा मूर्ति विसर्जनका क्रममा पटक पटक विवाद हुने गरेको क्षेत्रमा सिसिटिभी क्यामरा थप गरी निगरानी बढाउन थालिएको छ। पुराना घटनाको अध्ययन गरी मुख्य संवेदनशील मानिएका क्षेत्र अब डिजिटल निगरानीमा रहने भएका छन्।
कृष्णनगरका थप ५ स्थान र मर्यादपुरका २ स्थानमा सिसिटिभी क्यामरा जोडिएको एसपी कार्कीले बताए। यसैगरी ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने खालका डिजेसमेत प्रयोग गर्न निषेध गरिएको छ।
जिल्लाका चाडपर्वको समयमा सवारी दुर्घटना हुने, कुटपिट हुने, साम्प्रदायिक हिंसा हुने, सीमा क्षेत्रमा लुटपाटजस्ता घटना बारम्बार हुने गरेका छन्।
प्रहरीले योजनाका साथ सक्रियता बढाएर र प्रविधिको प्रयोग गरी त्यस्ता घटना हुन नदिने प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए। -न्युज कारखाना