काबुल- तालिबानले आफ्नो सत्तामाथि प्रतिबन्ध लगाएर कमजोर बनाउने अमेरिका र युरोपियन देशहरुको प्रयासले वैश्विक सुरक्षामा असर पुर्याउनसक्ने चेतावनी दिएको छ। जसका कारण मानिसहरु अफगानिस्तानबाट पलायन हुने संख्या थप बढ्नसक्ने बताइएको छ।
अफगानिस्तानका कार्यकारी विदेशमन्त्री आमिर आन मुत्तकीले विदेशी सहायता आउने मुलुकहरुलाई आफूमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गरेका छन्। उनले अफगान बैंकको सम्पत्ति रोक्का फुकुवा गरेपछि कामदारहरुलाई तलब दिन सकिने उनले बताएका हुन्।
मंगलबार जी-२० सदस्य राष्ट्रहरुको भर्चुअल सम्मेलन गर्दै अफगानिस्तानमा मानवीय संकट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि तालिबानले यस्तो प्रतिक्रया दिएको हो। जी-२० सदस्य राष्ट्रहरुले तालिबानले मानवअधिकारको सम्मान गर्नुपर्ने बताइएको छ।
अफगानिस्तानको निर्वाचित सरकार अपदस्थ गर्दै तालिबानल अगस्त १५ मा सत्ता कब्जा गरेको थियो। तािलबानले सत्ता कब्जा गरेसँगै हजारौं अफगानीहरुले देश छोडेका छन् भने लाखौंले मुलुक छोड्ने प्रयास गरिरहेका छन्।
तालिबानले महिलाहरुलाई एक्लै घरबाट निस्कन नपाउने प्रावधान लागु गरेको छ भने पुरुषहरुलाई दाह्री पाल्नुपर्ने, महिलाहरु विद्यालय तथा जागिर गर्नबाट वञ्चित भएका छन्। अगस्त ३१ मा अमेरिकी सेनाको अन्तिम टोली फिर्ता भएसँगै अफगानिस्तानलाई गर्दै आएको विदेशी सहयोगमा पनि प्रतिबन्ध लागेको छ। जसका कारण अफगानिस्तानमा आर्थिक संकट देखिएको छ। द-हिन्दुबाट साभार