काठमाडौं- चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन। प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ। कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ। घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ।
फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु। तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ। यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी। यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ।
एसएसपी अशोक सिंह भन्छन्, ‘हामीलाई दसैंमा विदा हुँदैन। सम्पूर्ण जनशक्ति जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेको छ।
दसैंतिहार विशेष सुरक्षा योजना लागु गरेका छौं। काठमाडौंको पचासौं लाख जनसंख्याको सुरक्षा, चाडपर्व मनाउन बाहिर जाने र अन्य यहाँको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयबाटै विदा नछोड्ने भन्ने निर्देशन आएको हुनाले हामी आफ्नो ड्युटी गर्ने, ड्युटी गर्दै रमाउने र मनाउने गरेका छौं। दसैंको बेला संगठन प्रमुखसँग टीका ग्रहण गर्न जान्छौं। मातहतमा रहेका वृत्त प्रमुखहरुसँग पनि टीका आदान प्रदान हुन्छ।’