काठमाडौं– मुखियाको आँगनमा गाउँभरिका मान्छे भेला हुन्थे। पञ्चपालाभरि अक्षता र जमरा सजाएर राखिएको हुन्थ्यो। नवरातभरि घन्किने पञ्चेबाजाका धुनले वातावरण झन् आनन्दित बनाउँथ्यो।
घैला बौनिया कैलाली निवासी ८० वर्षीय देवराज विनाडीको मानसपटलमा दसैं आउनेबित्तिकै यस्तै सम्झना आउँछ। नवरातका नौ दिनसम्म देउडा खेलेको सम्झँदा उनलाई जवानीमै फर्कन मन लाग्छ।
बाल्यकालमा गाउँको सल्लेरी डाँडामा बाबियो काट्दै पिङ हालेर चचहुई गरेको प्रसङ्ग त उनका लागि बिरानो भइसक्यो। उमेर बूढो भयो। तर, विनाडीका सम्झना तन्नेरी छन् ।
हजुराका तपाईं जवानी हुँदा दसैं कस्तो हुन्थ्यो? चाउरिएको निधारमा हँसिला धर्सा तेस्याउँदै विनाडीले भने, ‘नाति कुरै नगरौं। कति रमाइलो हुन्थ्यो–हुन्थ्यो। उहिलेको पो दसैं।’
‘ठूलाले सानालाई पालैपालो जमरा र टीका लगाउँथे। मुखियाले एक आना दुई आना गरेर गच्छेअनुसार दक्षिणा र आशिष् दिन्थे।’
उनी दसैंमा उमंग नै बेग्लै हुने बताउँछन्। ‘हाम्रो परिवार नै मुखिया हो। गाउँलेको आगमनले हाम्रो आँगन भरिएको हुन्थ्यो,’ उनले भने, ‘ठूलाले सानालाई पालैपालो जमरा र टीका लगाउँथे। मुखियाले एक आना दुई आना गरेर गच्छेअनुसार दक्षिणा र आशिष् दिन्थे।’ एक आना पैसाको पनि निकै महत्त्व थियो। ‘एक आनाले १२ वटा सलाई आउँथे नाति। अहिले पो समय फेरियो,’ उनले भने।
विनाडीको पुख्र्यौली घर डोटीको जोराघाट हो। उनको जीवनको ५०–६० वसन्त डोटीमै बित्यो।
उनी ती दसैं सम्झन्छन्। चतुर्दशीसम्म दसैं मान्ने चलन थियो। चतुर्दशीमा राँगो काटेपछि दसैं सकिन्न्थ्यो। त्रयोदशीका दिनदेखि नै गाउँमा राँगो दौडाउने गरिन्थ्यो भने रातभर देउडा खेल्दै रमाइलो गर्ने र चतुर्दशीको दिन क्षेत्री वा ठकुरी समुदायले राँगो काट्ने परम्परा थियो।
अचले ती दसैंको जस्तो मेला र जात्रा नै नहुने उनी बताउँछन्। ‘अहिले त मेला र जात्रा नै लाग्दैन। खाली पसल मात्रै हुन्छन्। देउडा खेल लाग्न छोडिसके। नयाँ पुस्ता देउडासँग रमाउन चाहँदैन,’ उनले भने।
अहिले देउडा खेल भए पनि शैलीका गीत नै नहुने उनी बताउँछन्। अहिलेका नयाँ देउडा गीतमा रस नै नभएकोझैं लाग्छ उनलाई। आफ्नो पालाका देउडाको गीतको मुखडा सम्झिए–
केटो – काकडिका छियामिया तोरङ् गलका बिया
तेरी जोई गोल्काखी आइछी गोल्का टिपि दिया
केटी – दुई जना विचल्लै गइछ्या मैरलै जान्दिया
तेरो पोइ आमखान आइछ्यो मैर नै खान्दिया
उनी पुराना गीत यस्तै मिठा–मिठा सवालजवाफमा हुने बताउँछन्। कतिले त देउडा खेलेरै घरपरिवार नै बिर्सने गरेको उनी बताउँछन्। देउडा भनेपछि दसैंमा जात्रा लाग्ने ठाउँमा दस गाउँका मानिसहरु भेला हुने गरेको उनले सुनाए।
‘लगभग दस गाउँसम्मकै मानिसले एक अर्कालाई चिनेका हुन्थे,’ विनाडीले भने। उनका अनुसार नाम चलेका देउडियालाई टाढासम्म बोलाउने चलन थियो।
अहिले दसैंको नाममा थुप्रै विकृति आएको उनी बताउँछन्। लाहुर गएको छोरोले गाउने नमुछे आमा दहीमा टीका नछरे जमरा... जस्ता पुराना गीत सम्झिँदै उनी भन्छन्, ‘अहिले त अर्थ त बर्थका गीत सुनिन्छन्। सुन्दै पट्यार लाग्छ।’
संस्कृति गहना भएकाले त्यसलाई त्यही रुपमा मनाउँदै संरक्षण गर्नुपर्ने उनी बताउँछन्। भन्छन्– युवा पुस्ताले पनि संस्कृतिमा विकृति नल्याओस्। संस्कृतिको मौलिकता नमासोेस्।’