काठमाडौं– माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ। सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग अन्तिम ८ मिनेट सम्हालिन नसक्दा स्तब्ध हुन पुग्यो। भारतसँग आइतवार पराजित भएसँगै साफ च्याम्पियनसिपमा शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ।
साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसँग नेपाल अन्तिम ८ मिनेट सम्हालिन नसक्दा एक खेल अगावै फाइनल पुग्ने लक्ष्य आइतबार अधुरै रह्यो। नेपाली मुलका खेलाडी सुनिल क्षेत्रीले नेपालको पोस्टमा निर्णायक गोल गरेपछि नेपाल स्तब्ध हुन पुगेको थियो। साफ च्याम्पियनसिपमा २८ वर्ष लामो संघर्ष गरेको नेपालको फाइनल पुग्ने यात्रा भारतसँगको पराजयसँगै एक खेल पर धकेलिएको थियो।
यसले नेपाललाई फाइनल पुग्नबाट रोक्दा शीर्ष दुईमा अटाउने होडबाजी निकै रोमाञ्चक भएको छ। प्रतिस्पर्धा गर्ने चारै टोलीलाई सुखद नतिजाले अघिल्लो चरण सम्भावन छ। बुधबार बंगलादेशसँगको खेलमा नेपाली टोली फाइनल पुग्ने लक्ष्य भएको भन्दै जितका लागि खेल्ने नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए।
अब लिगको अन्तिम खेलको नतिजाले आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेशको टुङ्गो लाग्ने छ। सोही कारण जारी साफ निकै रोमाञ्चक बन्न पुगेको छ। श्रीलंकाले ४ खेल खेल्दा अन्य टोलीले ३–३ खेल खेलेका छन्। लिग तालिकामा समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ।
साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने संघारमा नेपाली टोली छ। नेपाली टोलीका दोस्रो रोजाईका गोलकिपर विशाल श्रेष्ठले नयाँ इतिहास रच्नका लागि नेपाली टोली आतुर भएको भन्दै उच्च मनोबल बनाएर स्पष्ट जितका लागि खेल्ने बताए।
अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ। बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ। यदि खेल बराबरी भएमा भने नेपाल ७ अंकका जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली ९ अंक जोडेर शीर्ष टोली बन्ने छ। पराजित भए ४ अंक जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकाले बंगलादेश फाइनल पुग्ने छ। यस्तै यता आयोजक माल्दिभ्स र भारतबीच हुने खेलमा पराजित हुने टोली प्रतियोगिताबाट विदाई हुनेछ। ५ अंक जोडेको भारतले बराबरी भए पनि प्रतियोगिताबाट बाहिरिनेछ। सोही अवस्था आयोजक माल्दिभ्सलाई पनि हुनेछ।