लखनऊ- उत्तर प्रदेशको लखिमपुर खिरिमा भएको हिंसामा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।
उत्तर प्रदेश प्रहरीको एसआईटीले मंगलबार मुख्य आरोपी गृहराज्यमन्त्रीका छोरा आशिष मिश्रालाई १० दिनका लागि पुर्पक्षमा राखेर अनुसन्धान सुरु गरिएको छ।
लखिमपुरको तिकुनियाबाट मंगलबार एक अर्का आरोपी शेखर भारतीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ। उनलाई १४ दिनका लागि पुर्पक्षमा राखेर अनुसन्धान गर्न अदालतले आदेश जारी गरेको छ।
यसअअघि मंगलबार दिउँसो गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिषलाई खिरी क्राइम ब्रान्चले फेरि सोधपुछ सुरु गरेको थियो। सोधपुछमा आशिष मिश्राका वकिलका अनुसार उनले हालसम्म प्रहरीले सोधेका ४० प्रश्नको जवाफ दिइसकेका छन्।
त्यसैगरी प्रहरीले आशिषका साथी शेखरलाई पनि पक्राउ गरेको हो। यस मामिलाका आरोपी अंकित दास र लतिफले अदालतमा सरेन्डर आवेदन दिएका थिए। उनलाई तिकुनिया प्रहरी चौकीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
यसअघि लखिमपुरमा गृहराज्य मन्त्रीका छोराले चलाएको गाडीले किचेर किसान आन्दोलनमा सहभागी पाँच जना र अन्य तीनजनाको मृत्यु भएको थियो।
यस घटनालाई विपक्षी दल भारतीय कांग्रेसले सरकारविरुद्धको हतियारको रुपमा प्रयोग गरिरहेको छ भने सत्तारुढ भारतीय जनता पार्टीले बचाउ गरिरहेको छ।