आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस टोलीको भारत भ्रमण : देउवाको सत्ता स्वार्थ पूर्ति कि द्विपक्षीय सम्बन्ध विस्तार?

कांग्रेस टोलीको भारत भ्रमण : देउवाको सत्ता स्वार्थ पूर्ति कि द्विपक्षीय सम्बन्ध विस्तार?

तत्कालीन नेकपा सरकारका बेला चिनियाँ प्रभाव बढेको विश्लेषण गर्दै भारतीय संस्थापन पक्षले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै विशेष चासो दिएको परराष्ट्र मामिलाका जानकार डा. प्रमोद जयसवाल बताउँछन्।
 |  बुधबार, असोज २७, २०७८
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बुधबार, असोज २७, २०७८

vianetvianet

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको टोलीले अघिल्लो साता भारत भ्रमण गरेपछि कूटनीतिक वृत्तमा प्रमुख दुई विषय चर्चामा आएका छन्।  एकथरीको विश्लेषण छ– प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतसँगको सम्बन्ध थप सुमधुर बनाउन शेरबहादुर देउवाले आफ्ना दूतलाई भ्रमणमा पठाएका हुन्।

triton college

अर्कोथरीले चाहिँ कांग्रेस नेताहरूको भारत भ्रमण कांग्रेस सभापतिसमेत रहेका देउवाको सत्ता स्वार्थसँग जोडिएको टिप्पणी गरेका छन्। पार्टीको चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका देउवाले भारतीय पक्षको साथ चाहेको हुन सक्ने उनीहरूको आंकलन छ। 

उसो त नेपालमा सरकार परिवर्तनपछि भारतका तर्फबाट राजनीतिक तहमा नै तीनवटा भ्रमण भएका छन्। पछिल्ला भ्रमणले केपी ओली नेतृत्वको सरकारका बेला भारतसँग चिढिएको सम्बन्धलाई पूर्ववत् अवस्थामा ल्याउन सहयोग गरिरहेको बुझाइ अर्काथरीको छ। 

तत्कालीन नेकपा सरकारका बेला चिनियाँ प्रभाव बढेको विश्लेषण गर्दै भारतीय संस्थापन पक्षले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै  विशेष चासो दिएको परराष्ट्र मामिलाका जानकार डा. प्रमोद जयसवाल बताउँछन्।

भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा असोज २१ गते बिहीबार नयाँदिल्ली गएका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली असोज २५ गते सोमबार स्वदेश फर्किएको छ।

National life insurance

गत अगस्टमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका बेला उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए। कांग्रेस सहमहामन्त्री डा. महतको निमन्त्रणामा नेपाल आएका उनले नै कांग्रेसलाई भारत भ्रमणको निम्तो दिएका थिए। यस्तो अवस्थामा भारतले पनि नेपालका राजनीतिक दलहरुसँगको सम्बन्ध विस्तार गर्न चाहेको कुरा भारतीय पक्षबाट भएका भ्रमणले पनि प्रस्ट पार्दछ।

भ्रमण राजनीतिक मात्रै कि धार्मिक पनि?

भारत भ्रमणमा गएको कांग्रेस टोलीले सो भ्रमणलाई भारतीय राजनीतिक दलसँगको ‘सम्बन्ध विस्तार’ को नाम दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो समय काम गरेका तथा उनका विश्वास पात्र मानिएका तरुण मिश्रा देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका थिए।

मिश्राले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई पशुपतिनाथको संरक्षण गर्ने विषय पनि सुझाएका थिए। उनको संकेत हिन्दु धर्मप्रति सरकार ‘नरम’ होस् भन्ने थियो।

त्यसपछि विजय चौथाइवाले र राम माधवले नेपाल भ्रमण गरे। उनीहरुले नेपालका राजनीतिज्ञहरुसँगको भेट सकिएपछि नेपालको सत्तारुढ कांग्रेसको टोली भारत भ्रमणमा गएको थियो। चौथाइवाले र माधव राष्ट्रिय स्वयंसेवक संघका पूर्व पदाधिकारीसमेत हुन ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतसँगै पूर्वराज्यमन्त्रीहरु उदयशमशेर राणा र अजय चौरसिया थिए। टोलीले भारतमा रहँदा भाजपाका अध्यक्ष जेपी नाड्डा, महासचिव अरुण सिंहलगायतका भाजपाका नेताहरुसँग भेटवार्ता गरेको छ। 

दिल्लीबाट लखनउ पुगेको नेपाली टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट गरेका थिए। मुख्यमन्त्री हुनुअघि गोरखपुरको गोरखनाथ मठका महन्त योगी हिन्दु राज्यका पक्षधर हुन्। डा. महतले मुख्यमन्त्री योगीसँगको भेट धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई सुमधुर बनाउने विषयमा केन्द्रित भएको बताएका छन्।

‘सभापतिमा जित्नका लागि कहीं न कहीं भारतीय साथ त रहन्छ नै। यो कुरा राम्ररी बुझेका देउवाले आफू हिन्दूप्रति पनि प्रतिबद्ध छु भन्ने सन्देश दिन उक्त टोलीलाई लखनउ हुँदै काशी पठाएको हुन सक्छ,’ डा. जयसवालले भने ।

मुख्यमन्त्री योगीसँगको भेटपछि नेपाली टोली काशी गएको थियो। धार्मिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण काशीमा नेपाली टोलीले काशी विश्वनाथ मन्दिरको दर्शन गरेको थियो भने ऐतिहासिक महत्त्व बोकेको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) मा पनि भ्रमण गरेको थियो।

देउवाको ‘दूत’ बनेर भारत भ्रमणमा गएको टोलीको उद्देश्य राजनीतिक मात्र नभएर धार्मिक पनि रहेको स्पष्ट छ। कांग्रेसभित्र पनि हिन्दुवादी मत बढ्दै गएको अवस्थामा आसन्न महाधिवेशनमा उक्त मतलाई आफूतिर तान्न पनि यो भ्रमण भएको हुनसक्ने कूटनीतिज्ञहरुले बताएका छन्।

परराष्ट्र मामिलाका जानकार डा. जयसवाल कांग्रेसका नेताहरुको भारत भ्रमण राजनीतिक मात्र नभएको दाबी गर्छन्।  ‘योगीसँगको भेट र काशी यात्रालाई कसरी राजनीतिक भन्ने?’ डा. जयसवालले प्रश्न गरे। उनी कांग्रेस नेताहरूको भ्रमणलाई कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उम्मेदवार बनेका देउवासँग जोड्छन्। ‘सभापतिमा जित्नका लागि कहीं न कहीं भारतीय साथ त रहन्छ नै। यो कुरा राम्ररी बुझेका देउवाले आफू हिन्दूप्रति पनि प्रतिबद्ध छु भन्ने सन्देश दिन उक्त टोलीलाई लखनउ हुँदै काशी पठाएको हुन सक्छ,’ डा. जयसवालले भने ।

देउवाको भारत भ्रमणको तयारी

प्रधानमन्त्री नियुक्त भएको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले पार्टीको महाधिवेशनअघि भारत भ्रमण जाने तयारी गरेका छन्। 

प्रधानमन्त्री नियुक्त भएलगत्तै भारत भ्रमण जाने परम्परालाई कोभिड–१९ ले केही धक्का लगाएको भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएपछि उनले भारत जाने संकेत गरिसकेका थिए।

बालुवाटार स्रोतले पनि प्रधानमन्त्री देउवाको भारत भ्रमणको चाँडै तय हुने बताएको छ। स्रोतले भन्यो, ‘भर्खर मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै चाडबाड सुरु भएको छ। सम्भवतः दसैंतिहारको बीचमा नभए तिहारपछि प्रधानमन्त्रीज्यूको भारत भ्रमण हुनेछ।’

भारतले भने प्रधानमन्त्री देउवालाई भ्रमणको निम्तो पठाइसकेको छैन। भारतीय सत्तारुढ भाजपाका नेताहरुसँगको छलफलका क्रममा पनि नेपाल–भारत सम्बन्धलाई अझ विकसित र सुमधुर बनाउने विषयमा छलफल भएको डा. महतले बताएका थिए।

दुवै देशबीच आपसी सम्बन्ध झन् मजबुत र सुमधुर बनाउन यो वार्ता सार्थक रहेको उनले बताएका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा पनि कुराकानी भएको जानकारी आफूले पाएको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिए।

‘विगतका तीन वर्षमा चीनसँग सम्बन्ध बढाउने भन्दै नेपालका कम्युनिस्टहरुले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबाट प्रशिक्षण लिए। तर, भारततर्फ राजनीतिक तहमा सम्बन्ध विस्तार हुन सकेको थिएन। अहिलेको भ्रमण राजनीतिक तहमा भएको छ। यो सकारात्मक छ।’

उनले नेपाल समयसँगको कुराकानीमा भने, ‘महतजीको भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यू (शेरबहादुर देउवा) को भ्रमणका विषयमा पनि कुराकानी भएको भन्ने जानकारी पाएको छु।’

भारतले निम्तो दिएको हो भन्ने प्रश्नमा उनले भने, ‘भारतले निम्ति दिइसकेको छैन। निम्तो अब आउन सक्छ। सायद दसैं–तिहारको बीचमा प्रधानमन्त्रीज्यूको भारत भ्रमण हुन सक्छ।’

सम्बन्ध विस्तार सकारात्मक 

पूर्वराजदूत एवंम् परराष्ट्रविद् डा. शम्भुराम सिम्खडा नेपाल र भारतबीचको राजनीतिक तहमा भएको भेटघाटलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्। उनले भने, ‘विगतका तीन वर्षमा चीनसँग सम्बन्ध बढाउने भन्दै नेपालका कम्युनिस्टहरुले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबाट प्रशिक्षण लिए। तर, भारततर्फ राजनीतिक तहमा सम्बन्ध विस्तार हुन सकेको थिएन। अहिलेको भ्रमण राजनीतिक तहमा भएको छ। यो सकारात्मक छ।’

२०६५ पछि भारतसँगको सम्बन्धका विषयमा नेपालका तर्फबाट पूर्वप्रधानमन्त्रीहरु, परराष्ट्रमन्त्रीलगायत उच्च राजनीतिक तहको भ्रमणमा पनि भारतले कर्मचारी तहमा डिल गराउने गरेको उल्लेख गर्दै उनले भने, ‘अहिले राजनीतिक तहमा सम्बन्ध बढाउने पहल भएको छ। यो राम्रो पक्ष हो।’

राजनीतिक तहमा सुमधुर सम्बन्ध भएमा दुई मुलुकबीचको सम्बन्ध राम्रो हुने उनी बताउँछन्। उनले थपे, ‘हामीले भारतसँग धेरै कुरा समाधान गर्नुपर्नेछ। सर्वप्रथम राजनीतिक तहको बुझाइ र विश्वास सिर्जना गर्नुपर्ने हुन्छ। त्यसका लागि दुई सत्तारुढ राजनीतिक दलहरुबीचको सम्बन्ध विश्वसनीय हुनुपर्छ।’

उनले भारतको तर्फबाट हुने राजनीतिक तहको सहभागिता कमजोर भएकाले अब त्यसलाई बलियो बनाउनुपर्नेमा दुवै मुलुकले पहल गरेको देखिएको बताए। राजनीतिक तहमा देखिएको दुरीलाई कांग्रेस नेताहरुको भ्रमणले केही हदसम्म पूरा गर्ने प्रयास गरेको डा. सिम्खडाले बताए।

सीमा मुद्दा र तुइन प्रकरणमा भारत के भन्छ?

दिल्लीमा रहँदा नेपाली टोलीले भारत सरकारका तर्फबाट भारतीय विदेशमन्त्री एस जयशंकरलाई पनि भेट गरेको थियो। भेटमा कांग्रेस नेतृत्वको टोलीले आफ्नो सरकारका चासोका विषय उठान गरेको बताइएको छ।

महाकाली नदीमा साउन दोस्रो साता तुइन काटिँदा एक नेपालीको मृत्यु भएको थियो। उक्त घटना छानबिन गर्न गठित समितिले पनि भारतीय सुरक्षा बलले तुइन काटेको संकेत गरेको छ। सोहीअनुसार परराष्ट्र मन्त्रालयले भारतलाई यस विषयमा कूटनीतिक नोट पठाएको छ। भारतले भने उक्त कूटनीतिक नोटको जवाफ दिएको छैन।

भारतीय विदेशमन्त्रीसँगको भेटमा पूर्वपरराष्ट्रमन्त्री डा. महतले सीमाको मुद्दा, तुइन प्रकरण, कोरोनाविरुद्धको खोप चाँडो उपलब्ध गराउने विषयमा छलफल भएको भारतीय सत्ता निकट सञ्चारमाध्यम आयोनन्युजलाई दिएको अन्तर्वार्तामा उल्लेख छ। 

अन्तर्वार्तामा महतले भनेका छन्, ‘नेपाल दुई ठूला मुलुकको बीचमा रहेको छ। हामी दुवै मुलुकसँग राम्रो सम्बन्ध स्थापित गर्न चाहन्छौं। हामी चीनसँगको मामिलामा पनि नेपालको हितलाई प्राथमिकतामा राखेर कुराकानी गछौैं। कांग्रेस स्पष्ट छ कि जस्तोसुकै सरकार भए पनि नेपाल सरकार प्रभावित हुँदैन। सरकार–सरकारबीचको सम्बन्धमा राजनीतिक प्रणाली जुनसुकै भए पनि केही हुँदैन।’

गृह मन्त्रालयको छानबिन प्रतिवेदनमा उक्त घटनामा एसएसबी जवानको संलग्नता रहेको उल्लेख छ। त्यस विषयमा भारतीय राजनीतिक तहको उच्च तहमा पहिलोपटक कांग्रेस नेता महतले कुरा राखेका हुन् ।

भारतीय विदेशमन्त्रीसँगको भेटका क्रममा डा. महतले भने, ‘त्यस घटनामा नेपाली जनता र सरकारको चासो छ। हाम्रो अनुसन्धानले एसएसबीको संलग्नता देखाएको छ। तल्लो तहमा कुनै एक जवानबाट गल्ती भएको हुन सक्छ। त्यसबारेमा अनुसन्धान गरेर तथ्य कुरा बाहिर ल्याइदिनुभयो भने त्यसले भारतप्रति सम्मान थप बढ्ने आग्रह गरेका छौं।’

त्यस विषयमा नेपाल सरकारले कूटनीतिक नोटसमेत पठाइसकेको ध्यानाकर्षण पनि महतको टोलीले गराएको छ। त्यस घटनालाई गम्भीरता पूर्वक हेरिदन आफूहरुको आग्रह रहेको महतले बताएका छन्। जवाफमा विदेशमन्त्री जयशंकरले त्यसबारे अनुसन्धान गरिने उल्लेख गरेको महतले बताएका छन् ।

नेपाल सरकारले भारतबाट पाउन बाँकी रहेको १० लाख डोज खोप चाँडो उपलब्ध गराउन पनि विदेशमन्त्री जयशंकरलाई आग्रह गरेको छ। डा. महतले भारतीय विदेशमन्त्रीसँग ससानादेखि कम्पिलिकेटेड विषयहरूमा छलफल भएको बताएका छन्। भारतीय विदेशमन्त्री जयशंकरबाट आफूहरुले सकारात्मक संकेत पाएको उनले बताए। नेपालको लोकतन्त्र बलियो बनाउने आफूहरुको सहयोग रहने उनको भनाइ थियो।


प्रकाशित: Oct 13, 2021| 07:56 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...