धनगढी- आज फूलपाती। आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ। आश्विन शुक्ल सप्तमीका दिनमा फूलपाती मनाइने गरिन्छ। तर, थारु समुदायमा दशैं मनाउने तौरतरिका बेग्लै छ। थारु समुदायमा आजको दिन पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने चलन छ।
थारु समुदायमा ज–जसको घरमा देवता छन् उनीहरु आजको दिन पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने, देवतालाई नुहाई धुवाई गरी सरसफाइ गर्ने, देवथान लिपपोत गर्ने र ढिक्री पुज्ने सामग्रीको जोहो गर्ने चलन छ।
आजको दिन थारु समुदायका घरमा भएका फोहार चिज बाहिर फाल्ने, घरमा भएका माकुराका जालोहरु फाल्ने जसलाई झोलझराई भन्ने गरिन्छ । अष्टमीको दिन थारु समुदायमा आफ्ना देवतालाई ढिक्री पुज्ने गर्दछन्।
थारु गाउँमा रौनक
कला, संस्कृति, नाचगानमा धनी थारु समुदाय। आफैले सिर्जना गरेको गीतबाँस र नाचगानमा रमाउने थारु समुदाय।
गत वर्ष कोभिड–१९ पहिलो लहरका कारण दशैं तिहारमा सुनसान रहेका पश्चिम नेपालका थारु वस्ती यो वर्ष भने कोरोना संक्रमण दर न्यून भएका कारण थारु वस्तीमा मादल र मन्जिराको छुनछुन आवाजले थारु वस्ती चैनार (रमझम) भएको छ।
कृष्णा जन्माष्टमीदेखि सुरु हुने सखिया नाचले दशैं आउन थालेको संकेत गर्दछ। अहिले गाउँ वस्तीमा मादल र मन्जिराको सुमधुर आवाजले गुञ्जायमान भएको छ। दशैं भित्रिएसँगै यहाँका थारू बस्तीमा सखिया नाचको रौनक छाएको छ। साझ पर्नेबित्तिकै प्रायः सुनसान हुने थारू बस्तीमा अबेर रातिसम्म मादल घन्केर चहलपहल बढिरहेको छ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ९ की रिता चौधरी साथीसंगी दिनभरि आफ्ना काममा व्यस्त भए पनि साँझपख भने एकै ठाउँ जम्मा भएर प्रत्येक साँझसखिया नाच्ने गरेको बताइन्।
कैलालीको कैलारी गाउँपालिका उत्तरभर्रीमा जेउँरा (जमरा) राखेको दिनदेखि समरौटी गाएर ट्रासन ठोकेका (नाचको सुभारम्भ गरिएको) छ। गत वर्ष कोरोना कहरले थारु कला संस्कृतिमा समेत प्रभाव पारेको भए पनि अहिले भने गुञ्जायमान छ थारु वस्ती।
गाउँको बर्का (ठूलो) गुरुवा र केसौकामार्फत कुल देउथान कालिमाईमा देवीदेवताको पूजा आराधनासहित ट्रासन ठोकेपछि मात्रै सखिया नाच्न पाउने रितिरिवाज रहेको छ स्थानीय छोटेलाल चौधरीले बताए। उनले भने, ‘गत वर्ष कोरोना कहरले सम्भव भएन यो वर्ष हामीले धुमधामका साथ दशैं मनाइरहेका छौं।’
गारु समुदायमा हरेक काम शुरु गर्दा निश्चित विधि पद्धति पुरा गर्नुपर्छ उनले भने, ‘थारु समुदायमा सखिया नाँच्नुपूर्व होस् या मुङ्ग्रहुवा, बडका नाचलगायतको सांस्कृतिक कार्यक्रम गर्ने क्रममा समरौटी गाउने र ट्रासन ठोक्ने गरिन्छ।’
देउताको पूजा गरेर मादल बजाउने वा बन्द गर्ने हुन्छ। खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कात्तिक महिनासम्म झन्डै दुई महिना निकै मनोरञ्जन गरिन्छ।
उत्तरभरी गाउँमा सखिया र झुम्रा नाँच पुर्खौदेखि निरन्तर नाचिदै आइएको उनले बताए। दशैंको आगमनमा मन्जिरा र मादलको अवाज कैलालीको उत्तरभर्री गाउँमा मात्रै होइन पश्चिम नेपालको प्रायः थारु बस्तीमा कृष्णजन्मष्टिमको बिहानदेखि नाँचको अभ्यास हुन्थ्यो।
जुन कारण गाउँ गाउँका नाचमा प्रतस्पिर्धा पनि हुन्थ्यो। दशैंमा गाउँको ठूलाबडा अगुवा, बुद्धिजीवि, राजनेताहरुको घरमा सम्मान स्वरुप नाच लिएर आशिर्वाद लिन जाने चनल पनि छ । जसको रौनकले पुरै गाउँ नै चैनार (चहलपहल) हुन्थ्यो।
कैलालीको भादा थारु होमस्टे गाउँमा दशक बढी समयदेखि सखिया, झुम्रा नाच देखाएर पर्यटकहरुलाई स्वागत गरिँदै आएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए।
उनले भने, ‘सखिया दशैंको पूर्व सन्ध्यामा एक महिना अगाडी रातको समयम नाच्ने गरिन्छ।’ उनले होमस्टेमा आउने पर्यटकलाई मनोरञ्जन दिनको साथै कला संस्कृतिको संरक्षण गर्न सखिया, झुम्रा नाच्ने गरेको बताए।
दशैंमा सखिया नाचको लागि मादल बजाउने पुरुष दौना (एक प्रकारको फूलको पात) को बास्नादार माला, सेतो धोती र कमिज लगाएर सखिया नचाउँछन्। मादल भने पुरुषले नै बजाउछन्। नाचमा सघाउने पनि सबै महिला नै हुन्छन्। थारू समुदायले शिव पार्वती, कृष्णलगायत आफ्ना अरु देवीदेउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने गर्दछन्।
१५ देखि २० जनाको समूहमा सखिया नाच्ने युवतीले फरिया चोलिया बट्टेदार लेहंगा थारु गरगहनामा सजिएका हुन्छन्।
तराईका थारु बाहुल्य बस्तीमा दशैंभरि मादल नबजेको दिन हुँदैन । खाना खाइसकेपछि उनीहरु हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्छन्। नाचगानमा थारु निकै व्यवस्थित छन्। उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत छन्।
देउताको पूजा गरेर मादल बजाउने वा बन्द गर्ने हुन्छ। खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कात्तिक महिनासम्म झन्डै दुई महिना निकै मनोरञ्जन गरिन्छ।
दशैंमा सख्या नाँच
थारु जातिको पौराणिक भाषा, भेषभूषा, रहन-सहन, संस्कार, कला तथा संस्कृतिक परम्परा अन्य समुदाय भन्दा भिन्न छ।
आर्थिक, सामाजिक, तथा राजनीतिक हिसाबले पछि पारिए पनि सांस्कृतिक हिसाबले अन्य समुदायको तुलनामा थारु जाति धेरै अगाडी छ।
थारु जातिले माघे संक्रान्तिलाई सबैभन्दा धूमधामका साथ मनाए पनि अटवारी, कृष्ण जन्माष्टमी, दशंै र तिहारलाई पनि धुमधामका साथ मनाउँदै आएका छन्।
दशैं थारु जतिका लागि महत्वपूर्ण पर्व मानिन्छ। महाभारत र कृष्ण लिलामा आधारित कथालाई गीतको लयमा ‘सख्या’ नाच र आफ्नो घरको कुल देवतालाई पशुपन्छी बलि दिने, ढिक्री चढाउने, बाबरी फुल, मकैको जमरा, रक्सी र जल चढाउने, बेलको हागामा ढिक्री फलाउने, कुपिण्डोको भेडा बनाएर देउताको अगाडी बली दिने जस्ता धार्मिक काम पनि दशैं गरिन्छ।
दसैंमा पाठपूजाका साथै ‘सख्या’ नाचको ठूलो महत्व छ। थारु जातिका युवतीले महाभारत आधारित कथालाई गीतको लयमा उनेर सख्या नाच नाच्ने गर्दछन्। यूवाको समूहले युवतीले गाएको गीतको लयमा मादल बजाउँछन्। यो नाच कृष्ण जन्माष्टमीको रातदेखि नाच्ने गरिन्छ।