काठमाडौं- राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा मोफसलको मोरङ फुटबल क्लब समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित एन्फा कमप्लेक्सको एस्ट्रो टर्फमा बिहिबार भएको समूह चरणको अन्तिम खेलमा जावलाखेल युथ क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै मोरङ समूह ‘बी’ को विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो । यो जितसंगै मोरङले समूहमा ७ अंक जोड्यो।
मोरङको जितमा सुरज ठकुरी र आशिष चौधरीले समान एक–एक गोल गरे । जावलाखेलका दर्शन गुरुङले एक गोल फर्काएपनि जितकालागि प्रर्याप्त भएन । तर, पहिलो हाफको इन्जुरी समयमा दर्शन गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
बराबरीतर्फ धकेलिएको खेलको ८८ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै मोरङलाई महत्वपूर्ण जित दिलाएका थिए । हारसँगै जावलाखेलले समूह चरण पार गर्न सकेन।
मोरङको जितले ब्रिगेड ब्वाइजले पनि अन्तिम आठमा स्थान बनाउन सफल भयो । बिग्रेड ब्वाइजले बिहिबारै पुलिसमाथि ५–१ को फराकिलो जित निकालेर समूहमा ५ अंक जोड्न सफल भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४