काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा नियुक्त भएको भनेर चौतर्फी आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। उनी नियुक्त भएको तीन दिनमै पदबाट हटेका हुन्।
मन्त्री पदको शपथ लिएपछि शीतल निवासबाट सीधै सिंहदरबार पुगेका हमालले शुक्रबार साँझ मन्त्रालयमा पदबहाली गर्दै उच्च पदाधिकारीसँग केही बेर छलफल गरेका थिए। उनले पदभार ग्रहण गर्दा उनले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए। नवनियुक्त मन्त्रीले पदभार ग्रहण गरेकै दिन एउटा निर्णयमा हस्ताक्षर गर्नुपर्ने प्रचलन छ।
मन्त्रालयले मातहतका सबै महाशाखालाई आइतबार ब्रिफिङका लागि सूचना जारी गरेको थियो। मन्त्री हमाल ब्रिफिङका लागि कार्यालय नआउँदै पदबाट बाहिरिएका छन्। हमाल शनिबार लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औं बैठकमा सहभागी भएका थिए।
‘ममाथि राजनीतिमा सक्रिय हुन सकेन, निस्क्रिय भयो भनेर लाञ्छना लगाइएको छ। यस्तो अवस्थामा पदमा बसिरहनु भन्दा राजीनामा दिनु जाती लाग्यो।’
मन्त्री हमालले आफ्नो व्यक्तिगत विषयमा सञ्चारमाध्यममा विवाद आएपछि स्वविवेकका राजीनामा दिएको बताएका छन्। उनले भने, ‘ममाथि राजनीतिमा सक्रिय हुन सकेन, निस्क्रिय भयो भनेर लाञ्छना लगाइएको छ। यस्तो अवस्थामा पदमा बसिरहनु भन्दा राजीनामा दिनु जाती लाग्यो।’ आफू पदमा बसिरहँदा सरकार पनि विवादमा तानिने भएकाले राजीनामा दिएको उनले स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘यसमा मैले स्वविवेक प्रयोग गरेको हुँ। कसैले दबाब दिएको होइन।’
उनले आफू नातामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको जेठान पर्ने भए पनि राणाको कोटामा मन्त्री नियुक्त भएको आरोप गलत रहेको बताए। उनले भने, ‘म सुरुदेखि नै शेरबहादुर र नेपाली कांग्रेसको मान्छे हुँ। मलाई नेपाली कांग्रेसले नै नियुक्ति दिएको हो। मन्त्री बनाएको हो। उहाँको त यसमा कुनै संलग्नता छैन।’