काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्। असोज २२ गते मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन्। प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिँदा हमालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जम्मेवारी पाएका थिए।
मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको कुनै भूमिका नरहेको समेत बताएका छन्। नियुक्तिमा प्रधानन्यायाधीशलाई मछ्नुले आफू आश्चर्यचकित परेको उनको भनाइ छ।
प्रस्तुत छ हमालसँग गरिएको संक्षिप्त कुराकानी :
तपाईंले राजीनामाको घोषणा गर्नुभएको हो?
हो।
के कारणले तीन दिनमै राजीनामा दिने अवस्थामा पुग्नुभयो?
मेरो व्यक्तिगत विषयमा सञ्चारमाध्यममा विवाद आयो। ममाथि राजनीतिमा सक्रिय हुन सकेन, निस्क्रिय भयो भनेर लाञ्छना लगाइएको छ। यस्तो अवस्थामा पदमा बसिरहनु भन्दा राजीनामा दिनु जाती लाग्यो। म पदमा बसिरहँदा सरकार पनि विवादमा तानिने भएकाले राजीनामा दिएको हुँ। यसमा मैले स्वविवेक प्रयोग गरेको हुँ। अरु कसैले दबाब दिएको होइन।
आजै राजीनामा बुझाउनुहुन्छ कि?
हो आजै राजीनामा बुझाउँदै छु।
तपाईंकाे नाम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडेर गरिएको टीकाटिप्पणीप्रति यहाँको धारणा के छ?
उहाँ मेरो ज्वाइँ नाता पर्नुहुन्छ। झुटा बोल्ने कुरा होइन। म उहाँको कोटामा परेको कुरा गलत हो। म सुरुदेखि नै शेरबहादुर र नेपाली कांग्रेसको मान्छे हुँ। मलाई नेपाली कांग्रेसले नै नियुक्ति दिएको हो। मन्त्री बनाएको हो। उहाँको त यसमा कुनै संलग्नता छैन।
सरकार र प्रधानन्यायाधीश बद्नाम हुने देखिएपछि राजीनामा गर्नुभएको त होइन?
होइन- होइन। त्यो कुरा होइन नि। मेरो व्यक्तिगत निर्णयमा प्रधानन्यायाधीश र सरकारसँग कुनै मतलब छैन। मेरो व्यक्तिगत चरित्रहत्या गर्ने प्रयास भएकाले मैले राजीनामा दिएको हुँ।
तपाईंलाई कसैले राजीनामा दिएर सहयोग गर्न भन्नु भएको छैन?
हैन, कसैले राजीनामा दे भन्नु भएको छैन। बरु राजीनामा नदिन आग्रह गरिरहेका छन्। मैले प्रधानमन्त्रीसँग पनि भेटेको छैन। प्रधानन्यायाधीशसँग पनि भेटेको छैन। व्यक्तिगत रुपमा प्रधानन्यायाधीशको जेठान पर्छ भन्नेबित्तिकै आरोपप्रत्यारोप गरे। त्यो गलत भयो।