काठमाडौं- केन्द्रीय सत्ता परिवर्तन भएसँगै प्रदेश सरकारहरु पनि परिवर्तनको क्रम सुरु भएको छ। केन्द्र सरकारमा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै केही प्रदेशमा मुख्यमन्त्रीसहितका मन्त्रीहरु परिवर्तन भए पनि सुदूरपश्चिममा भने मन्त्रीहरुमात्रै फेरबदल भएका थिए।
सुदूरपश्चिम प्रदेशमा भने माओवादी नेतृत्वको सरकार रहेको छ। माओवादी कोटाबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टप्रति सुदूरपश्चिमका कांग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री बनेका भट्टले सत्ता साझेदार दल कांग्रेससँग कुनै सल्लाह नै नगरी निर्णय गरेको भन्दै कांग्रेसका सांसद्हरु असन्तुष्ट बनेका हुन्।
उनीहरुले शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश सरकारप्रति गुनासो गरेका छन्। कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितका नेताहरूको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारबाट कांग्रेसलाई सहयोग नभएको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न दबाब दिएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा रावल नेतृत्वको टोलीमा प्रमुख सचेतक गोविन्द बोहरा र सांसद भरत खड्का सहभागी थिए। दलका नेता डा. रावलले पार्टीको जारी अधिवेशन, गठबन्धनको सरकारका गतिविधि, विकास निर्माणका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए।
उनले भने, ‘गठबन्धन कस्तो भूमिका निर्वाह गर्दैछ। गठबन्धनमा रहेका दलहरूका बीचमा कस्तो प्रकारले सर–सल्लाह भइरहेको छ भन्ने बारेमा ब्रिफिङ गर्यौं । पार्टीको अधिवेशन र विकास निर्माणका बारेमा पनि हामीले कुराहरु राखेका छौं।’
सुदूरपश्चिममा गठबन्धनको हिसाबले कामहरु नभएको र कर्मचारी सरुवा–बढुवा गर्दा नीति, नियम पालना नभएको गुनासो कांग्रेसका सांसद्हरुले प्रधानमन्त्री देउवासमक्ष राखेका हुन्।
उनले कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गर्न खोजिरहेको बताएका छन्। प्रदेशसभा संसदीय दलका नेता रावल, प्रमुख सचेतक बोहरा र सांसद खड्काको ‘ब्रिफिङ’ पछि प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग सुदूरपश्चिम सरकारका बारेमा छलफल गर्ने बताएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारमा अहिले नेकपा (एकीकृत समाजवादी) र माओवादी मात्रै सरकारमा छन्। केन्द्रमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सहितको गठबन्धन हुँदा प्रदेशमा बेवास्ता गरिएको कांग्रेसका नेताहरुले प्रधानमन्त्री देउवासँग गुनासो गरेका थिए।
सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तन गरेर कांग्रेस संसदीय दलका नेता रावललाई मुख्यमन्त्री बनाउने गरी तयारी भइरहेको छ। ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन्। प्रतिपक्षी एमालेसँग १० सांसद छन्। जसपा र लोकतान्त्रिक समाजवादी (लोसपा) का एक-एक सांसद छन्।