काठमाडौं- नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन्।
महासचिव पोखरेलले १० बुँदे सहमतिलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारेका छन्।
पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरुलाई समेटेर लैजाँदामात्रै १० बूँदे सहमतिको जीवन्त कार्यन्वयन हुने दाबी गरे।
उनले भने, ‘१० बुँदे ठिक छ। त्यो सुझाव हो। त्यो सुझावलाई सृजनात्मक ढंगले लागु गर्ने। रचनात्मक ढंगले बुझ्ने। जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागु गर्ने। अब के गर्ने हो भने हिजो जो–जो साथीहरुले के गर्नु भो भन्नेबारे समीक्षा गरौंला। तर अहिले गर्ने एउटै कुरा हो- पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेट्दै लैजाने हो। १० बुँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नु हुँदैन। सृजनात्मक ढंगले बुझ्नु पर्यो।’
महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पुर्याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गरेका छन्।
कार्यक्रममा बोल्दै एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘दल विभाजन अध्यादशेको विरोध गर्ने कमरेड माधव नेपाल र झलनाथ खनाल आज ४० प्रतिशत होइन, उहाँहरुलाई जति प्रतिशत राख्दा पुग्छ, त्यही आधारमा २० प्रतिशत पुग्ने अध्यादेश ल्याएर छापामार शैलीमा दल विभाजन गर्नुभयो। जुन राजनीतिक, कानुनी, नैतिक कुनै हिसाबले पनि औचित्यपूर्ण हुन सक्दैन।’
सचिव विष्टले आफूहरुले माधव नेपाललाई पार्टी विभाजन गर्न कहिल्यै नभनेको पनि पटकपटक दोहोर्याएका छन्।